चाङलुङ गुफामा प्राज्ञिक भेला, छथरको जातीय–सांस्कृतिक विविधतामाथि बहस

तेह्रथुमको सुदापस्थित ऐतिहासिक तथा पर्यटकीयस्थल चाङलुङ गुफामा आयोजित भेलामा पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लाबाट कवि, साहित्यकार, संस्कृतिकर्मी र अनुसन्धानकर्ताको सहभागिता रहेको छ।

माघ २६, २०८२

विनोद घिमिरे

Academic gathering at Changlung Cave, debate on Chhathar's ethnic-cultural diversity

धनकुटा — छथर क्षेत्रको जातीय, सांस्कृतिक विविधता तथा साहित्यिक–सामाजिक सहअस्तित्वका विषयमा प्राज्ञिक विचार गोष्ठी चाङलुङ गुफामा सुरु भएको छ।

छथर साहित्य समाजको आयोजना, नेपाल प्रज्ञा प्रतिष्ठानको सामाजिक–सांस्कृतिक विभागको सहकार्य तथा छथर गाउँपालिकाको व्यवस्थापनमा कार्यक्रम सञ्चालन गरिएको हो।

तेह्रथुमको सुदापस्थित ऐतिहासिक तथा पर्यटकीय स्थल चाङलुङ गुफामा आयोजित भेलामा पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लाबाट कवि, साहित्यकार, संस्कृतिकर्मी र अनुसन्धानकर्ताहरूको सहभागिता रहेको छ। सहभागीहरू आ–आफ्नो जातीय तथा सांस्कृतिक भेषभूषामा उपस्थित भई सांस्कृतिक पहिचान र सहअस्तित्वका विषयमा धारणा राखिरहेका छन्।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईसहित साहित्य र संस्कृतिका क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ। गोष्ठीमा छथर क्षेत्रको भाषा, संस्कार, परम्परा, मौलिक संस्कृति संरक्षण तथा पुस्तान्तरणका विषयमा छलफल भइरहेको छ।

छथर साहित्य समाजका सचिव रोशन यात्रीका अनुसार भेला भोलि मार्गा पोखरीमा सम्पन्न हुने समापन कार्यक्रममा ६ बुँदे घोषणा पत्र जारी गर्दै सकिनेछ। घोषणा पत्रमार्फत स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र साहित्यिक गतिविधि विस्तारका प्रतिबद्धता सार्वजनिक गरिने उनले बताए।

ऐतिहासिक गुफास्थलमा आयोजित यो भेला छथरको सांस्कृतिक पहिचान उजागर गर्ने अवसरका रूपमा हेरिएको छ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully