साकेलाको रनिङ शिल्ड उपाधि राधाकृष्ण माविलाई

शनिबार सम्पन्न प्रतियोगितामा ७ स्वर्ण, ७ रजत र ४ कास्य पदकसहित वडा–१ बाँझेच्यानडाँडास्थित राधाकृष्ण माविले उपाधि चुमेको हो ।

माघ २५, २०८२

डम्बरसिं राई

Sakela's Running Shield title goes to Radhakrishna Secondary School

खोटाङ — साकेला गाउँपालिकामा सम्पन्न ८ औं पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राधाकृष्ण माध्यमिक विद्यालय बाँझेच्यानडाँडाले चुमेको छ ।

शनिबार सम्पन्न प्रतियोगितामा ७ स्वर्ण, ७ रजत र ४ कास्य पदकसहित वडा–१ बाँझेच्यानडाँडास्थित राधाकृष्ण माविले उपाधि चुमेको हो ।

प्रतियोगितामा ७ स्वर्ण, ३ रजत र ६ कास्यसहित साकेला मावि रतन्छा दोस्रो, ५ स्वर्ण, ६ रजत र ५ कास्यसहित बालबालिका मावि नौलाखर्क तेस्रो भएको छ । 

२५ स्वर्ण, २५ रजत र २५ कास्य पदकका लागि भएको प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ७ कास्यसहित विद्योदय मावि खिदिमा चौथो, १ स्वर्ण, १ रजत र १ कास्यसहित सरस्वती मावि मात्तिमबिर्ता पाँचौं तथा ३ रजत र २ कास्यसहित चण्डेश्वरी मावि डाँडागाउँ छैठाैं भएको छ ।

प्रतियोगिता अन्तरगत भलिबल, हाइजम्प, लङजम्प, सर्टफुट, दौड, ज्याबलिन थ्रो र ट्रिपलजम्प समावेश गरिएको थियो । गाउँपालिकाको ३ लाख र वडा कार्यालय बाँझेच्यानडाँडाको १ लाख बजेटमा उक्त प्रतियोगिता आयोजना गरिएको शिक्षा संयोजक कविराज राईले बताए। 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully