जेन–जी आन्दोलनपछि पहिलोपटक बस्यो कोशी प्रदेश सभा बैठक 

बैठकको विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारको आलोचना गरेका थिए ।

माघ २५, २०८२

कान्तिपुर संवाददाता

Koshi Provincial Assembly meeting held for the first time after the Gen-G movement

What you should know

विराटनगर — जेन–जी आन्दोलनका क्रममा भौतिक संरचना ध्वस्त भएपछि करिब पाँच महिना ठप्प रहेको कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आइतबारदेखि सुरु भएको छ ।

जिल्ला समन्वय समितिको भवनमा रहेको प्रदेश सभा हल आन्दोलनकारीले जलाइदिएपछि पहिलो बैठक विराटनगर महानगरको स्वामित्वको वीरन्द्र सभागृहमा बसेको हो । 

बैठकको सुरुमै सभामुख अम्बरबहादुर विष्टले मुलुकका ऐतिहासिक संरचनामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराएका थिए । 

प्रदेश सभामा साविकको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकीकरण भई बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का रूपमा नयाँ दलको उदय भएको छ । यस्तै, जनता समाजवादी पार्टी (जसपा)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र पनि सदनमा पढेर सुनाइएको थियो । 

बैठकको विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारको आलोचना गरेका थिए । उनले २३ र २४ भदौको  जेन–जी विद्रोह विदेशी शक्तिको कारण नभई सरकारको अहंकार र कुशासनको परिणाम भएको दाबी गरे । ‘७६ जना बालबालिका मारिनु र ८४ अर्बको क्षति हुनु सामान्य होइन । दुई ठूला दल मिलेर दुई–तिहाइको दम्भ देखाउँदा लोकतन्त्र नै संकटमा पर्‍यो,’ आङ्बोले भने, ‘प्रधानमन्त्री हेलिकोप्टर चढेर भाग्नु पर्ने र नेताहरू घरमै असुरक्षित हुने स्थिति सरकारकै अकर्मण्यताले उब्जाएको थियो ।’

आङ्बोले सांसदहरूको सेवा–सुविधा कटौती गरेर सरकारले सस्तो लोकप्रियता खोजेको भन्दै  मन्त्रालयहरूमा भ्रष्टाचार मौलाएको आरोप लगाए । सत्तारुढ एमालेका संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोले भने मुलुकमा बाह्य शक्तिको हस्तक्षेप बढेको र त्यसकै बलमा विद्रोह गराइएको दाबी गरे । उनले ‘फ्रि तिब्बत’का अभियन्ताहरूलाई विमानस्थलमा गरिएको स्वागतप्रति आपत्ति जनाउँदै नेपाललाई भू–राजनीतिक क्रिडास्थल बनाउन खोजिएको आरोप लगाए । ‘दिल्लीबाट आएका अभियन्तालाई राजकीय स्वागत गरिनु र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेपालको बारेमा आएका लेखहरूले नेपाललाई अर्को युक्रेन बनाउने षड्यन्त्र भएको पुष्टि गर्छ,’ मेन्याङ्बोको आरोप थियो, ‘यस्तो संवेदनशील घडीमा राष्ट्रियता जोगाउन कांग्रेस र एमाले मिल्नुको विकल्प छैन ।’ 

कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले मुलुकको समृद्धि र संविधान रक्षाका लागि प्रमुख दलहरू मिल्नु परिस्थितिको माग भएको बताए । उनले विपक्षीको आलोचनालाई संकेत गर्दै राष्ट्रिय हितका लागि हिजोका दिनमा पनि दलहरू मिलेको स्मरण गराए । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता प्रेमराज थाम्सुहाङले भने आन्दोलनले वर्तमान व्यवस्थाप्रतिको जनताको वितृष्णा छताछुल्ल पारेको टिप्पणी गरे । उनले देशमा साझा अभिभावकका रूपमा राजसंस्थाको आवश्यकता रहेको जिकिर गरे । 

कटहरी गाउँपालिकास्थित तरकारी मण्डीमा प्रदेश सभाको नयाँ  हल निर्माणधिन रहेकाले केही समयका लागि महानगरसंग सम्झौता गरेर वीरेन्द्र सभागृह भाडामा लिइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

कान्तिपुर

Link copied successfully