भेडेटार-नाम्जे खण्डमा टाइमकार्ड

खण्ड विस्तारका लागि थुम्की भीर कटानको काम चलिरहेकाले सवारी आवागमनका लागि टाइमकार्डको व्यवस्था लागू भएको हो ।

माघ २४, २०८२

विनोद घिमिरे

Timecard on the Bhedetar-Namje section

धनकुटा — निर्माणाधीन भेडेटार-रवि-राँके सडकको भेडेटार–नाम्जे खण्डमा ढुवानी र यातायातका साधन सञ्चालनका लागि टाइमकार्ड सुरु गरिएको छ ।

भेडेटार–नाम्जे खण्ड विस्तारका लागि थुम्की भीर कटानको काम चलिरहेकाले सवारी आवागमनका लागि टाइमकार्डको व्यवस्था लागू भएको हो । भारतीय एप्को इन्फ्राटेक निर्माण कम्पनीले साँगुरीगढी गाउँपालिकासँग समन्वय गरी टाइमकार्ड लागू गरिएको जनाएको छ ।

भीर कटिङ र ढुंगा फुटाउने कामका लागि भारी उपकरण सञ्चालन गर्नुपरेकाले जोखिम कम गर्न बिहान, दिउँसो र बेलुका निश्चित समयमा मात्रै आवागमन खुला गरिने भएको छ । आयोजनाका अनुसार पहिलो चरणमा बिहान ७ देखि देखि ९ः३०, १०ः३० देखि दिउँसो १, २ः३० देखि ४ः३० बजेसम्म सडक बन्द रहने छ । यस्तै बेलुका ५ देखि ६ तथा राति ८ देखि १ बजेसम्म उक्त सडक खण्ड बन्द रहने एप्को इन्फ्राटेक कम्पनीले जनाएको छ ।

बाँकी समयमा भने ढुवानी र यात्रुवाहक सवारी चालकलाई सावधानी अपनाएर आवतजावत गर्न आग्रह गरिएको साँगुरीगढी गाउँपालिका-६ का वडाध्यक्ष दीपक मगरले बताए ।

धनकुटाको भेडेटारदेखि डाँडाबजार, राजारानी, छनम्बर बुधबारे हुँदै पाँचथरको रवि र राँके बजारसम्मको १ सय ३ किलोमिटर सडक निर्माणाधीन छ । सडक निर्माणका लागि भारतको एक्जिम बैंकको करिब ३ अर्ब ६५ करोड रुपैयाँको सहुलियत पूर्ण ऋण सहयोगमा उक्त काम भइरहेको छ । यो सडकले धनकुटासहित इलाम र पाँचथरका बासिन्दालाई सहज हुनेछ ।

विनोद घिमिरे घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully