धनकुटाको तेलिया–तांखुवामा आँप ब्लक सञ्चालनको तयारी

कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयले ब्लक विकास कार्यक्रमका लागि क्षेत्र निर्धारण गरी स्वीकृति दिएको हो ।

माघ २४, २०८२

विनोद घिमिरे

Preparations for mango block operation in Teliya-Tankhuwa, Dhankuta

What you should know

धनकुटा — धनकुटाको छथरजोरपाटी गाउँपालिका अन्तर्गत तेलिया र तांखुवाको तल्लो क्षेत्रमा व्यावसायिक आँप खेती प्रवर्द्धन गर्न ‘आँप ब्लक विकास कार्यक्रम’ सञ्चालन हुने भएको छ ।

कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयले ब्लक विकास कार्यक्रमका लागि क्षेत्र निर्धारण गरी स्वीकृति दिएको हो ।

मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार कार्यक्रम अघि बढाइएको र त्यसअघि स्थलगत अनुगमन गरी किसान समूहबाट प्रस्ताव मागिएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ ।

आँप खेती विस्तारका लागि तेलिया–तांखुवा क्षेत्रका किसानहरूले ज्ञान केन्द्रमा प्रस्ताव पेस गरेका थिए । तेलिया गुठका किसान दीपक परियारका अनुसार स्थानीय किसानहरू व्यावसायिक रूपमा आँप खेती गर्न उत्साहित देखिएका छन् ।

कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाले मन्त्रालयले पत्रमार्फत कार्यक्रम स्वीकृतिको जानकारी गराएको बताए । उनका अनुसार छथरजोरपाटी–३ र ४ का सिभुवा र तेलिया क्षेत्रमा कार्यक्रम सञ्चालन हुनेछ ।

ब्लक विकासका लागि चार किल्ला समेत तोकिएको छ । तांखुवा खोला, तेलिया र थेपुङ खोला, तमोर नदी तथा कात्तिकेखोला–कावगाउँ कालोपत्रे सडकभित्र पर्ने करिब १४ सय रोपनी क्षेत्रफलमा आँप खेती विस्तार गरिने कोशी प्रदेश उधोग कृषि तथा सहकारी मन्त्रालयका कृषि प्रसार अधिकृत अभिमन्यू अधिकारीले जानकारी दिए ।

कार्यक्रमअन्तर्गत आँप खेतीको प्रकृति हेरी लागतको न्यूनतम ५० देखि अधिकतम ८० प्रतिशतसम्म सरकारी अनुदान उपलब्ध गराइनेछ भने बाँकी रकम किसानको सहभागिताबाट जुटाइने मोडेल अपनाइने छ ।

आँप खेती हुने क्षेत्रमा धनकुटा सदरमुकामदेखि कालोपत्रे सडक विस्तार भइसकेकाले उत्पादन बजारसम्म पुर्‍याउन सहज हुने अपेक्षा गरिएको छ । बसाइँसराइका कारण खाली हुँदै गएका बाँझो जमिनको सदुपयोग हुने र व्यावसायिक फलफूल खेतीमार्फत किसानको आम्दानी तथा जीवनस्तर सुधारमा टेवा पुग्ने कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाको भनाइ छ । 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully