इनोभेट नेक्स्ट इम्प्याक्टको आयोजनामा विराटनगरस्थित पर्यटन, वन तथा वातावरण मन्त्रालयको सभाहलमा आयोजित उक्त संवादमा सरकारी, निजी क्षेत्र, पर्यटन व्यवसायी, शिक्षालय तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।
What you should know
विराटनगर — कोशी प्रदेशमा पर्यटन विकासको दिशा, चुनौती र सम्भावनामाथि गहिरो बहस गर्ने उद्देश्यसहित ‘कोशी प्रदेशमा पर्यटन’ विषयक साझा संवाद कार्यक्रम सम्पन्न भएको छ।
इनोभेट नेक्स्ट इम्प्याक्टको आयोजनामा विराटनगरस्थित पर्यटन, वन तथा वातावरण मन्त्रालयको सभाहलमा आयोजित उक्त संवादमा सरकारी, निजी क्षेत्र, पर्यटन व्यवसायी, शिक्षालय तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटाले प्रदेश सरकारले घोषणा गरेको कोशी पर्यटन वर्ष २०८२ले कोशी प्रदेशमा पर्यटन संस्कार र संरचनागत आधार निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। उनले पर्यटन विकासमा निजी क्षेत्रको भूमिका निर्णायक हुने भन्दै पर्यटन वर्षले तयार पारेको आधारलाई दीगो विकासतर्फ लैजान प्रदेशसरकार प्रतिबद्ध रहेको धारणा राखे।
कोशी पर्यटन वर्ष २०८२ का सह–संयोजक भविषकुमार श्रेष्ठले कोशी प्रदेशमा हालसम्म पर्यटकको स्पष्ट र विश्वसनीय तथ्यांक नहुँदा वास्तविक अवस्था मूल्यांकन गर्न कठिन भएको स्वीकार गरे। उनले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले गरिरहेका प्रयास सकारात्मक भए पनि अब गुणात्मक पर्यटकवृद्धिका लागि नीतिगत सुधार अपरिहार्य भएको बताए।
संवाद कार्यक्रममा पर्यटन व्यवसायी राजन श्रेष्ठले भारतीय पर्यटक कोशी प्रदेशको मुख्य बजार भएको उल्लेख गर्दै उनीहरूलाई नेपालमै बढी खर्च गर्न प्रोत्साहित गर्ने खालका नीतिहरू आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा होटल व्यवसायी बासुदेव बराल र होम–स्टे महासंघ, कोशी प्रदेशकी अध्यक्ष लिलादेवी भट्टराईले पर्यटन विकासमा प्रदेश सरकारसँगै स्थानीय तहहरूको भूमिका पनि समान रूपमा महत्वपूर्ण हुने बताएका थिए। उनीहरूले स्थानीय सरकार, समुदाय र निजी क्षेत्रबीचको सहकार्य बिना पर्यटन दीगो नहुने निष्कर्ष निकाले।
संवाद कार्यक्रमको सहजीकरण वसन्त अधिकारीले गरेका थिए । कार्यक्रममा पर्यटनसँग सम्बन्धित सरकारी निकाय, निजी क्षेत्र, होटल व्यवसायी तथा पर्यटन विषय अध्यापन हुने शिक्षालयका विद्यार्थीहरूको समेत सहभागिता रहेको जानकारी आयोजक संस्था इनोभेट नेक्स्ट इम्प्याक्टकी श्वेता आचार्यले गराएकी थिइन् ।
