जितसँगै सहलेसले नगद ५ लाख रुपैयाँ र उपविजेता यङ ब्रदर सुनसरीले ३ लाख प्राप्त गरेको छ।
What you should know
उदयपुर — एघारौं नारदमुनि थुलुङ स्मृति गोल्डकपको उपाधि डिफेन्डिङ च्याम्पियन सहलेस क्लब सिराहाले नै हात पारेको छ।
द यङ ब्रदर्स क्लब सुनसरीलाई २ काविरुद्ध ५ गोल गर्दै सहलेस दोस्रो पटक पनि च्याम्पियन बनेको हो । जितसँगै सहलेसले नगद ५ लाख रुपैयाँ र उपविजेता यङ ब्रदर सुनसरीले ३ लाख प्राप्त गरेको छ।
खेलको १ मिनेटभित्रै सहलेसका जर्सी नम्बर ५ का विदेशी खेलाडी अब्दुलले पहिलो गोल गरेका थिए। उनले खेलको ६४ औं मिनेटमा अर्को १ गोल थपेका थिए । सहलेसका लागि अर्को गोल २२ औं मिनेटमा जर्सी नम्बर १० का विकी चाम्लिङ राईले गरेका थिए। उनैले ८२ औं मिनेटमा एकगोल थपे । खेलको ३८ औँ मिनेटमा जर्सी नम्बर १३ का अनिल पाँचे मगरले गोल गरे ।
खेलको ३०औं मिनेटमा यङ ब्रदरको तर्फबाट विदेशी खेलाडी जर्सी नम्बर १० का फोफोनाले गोल गरे । उनले लङ्ग सुट प्रहार गरेर उत्कृष्ट गोल गरेका थिए। खेलको ६०औं मिनेटमा उनैले अर्को १ गोल थपेका थिए । टिमका लागि २ गोल गर्ने उनी एकमात्र खेलाडी बने ।
हाफटाइम अगाडि नै ३-१ गोलले अग्रता लिएको सहलेसको पूरै खेलमा दबदबा रह्यो । सहलेसले क्वाटर फाइनलमा दमक झापालाई पराजित गरेको थियो भने सेमिफाइनलमा एपीएफ काठमाडौंलाई पराजित गरेको थियो ।
यङ ब्रदरले क्वाटरफाइनलमा आयोजक बसाहालाई पराजित गरेको थियो भने सेमिफाइनलमा न्यू त्रियुगा स्पोर्ट्स क्लब सप्तरीलाई पराजित गरेको थियो। फाइनल खेलको म्यान अफ दि म्याच चलेसका जर्सी नम्बर ५ का विदेशी खेलाडी अब्दुल भए। प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी सहलेसका असिम राई भए । उनले ७ हजार नगद पुरस्कार प्राप्त गरे। प्रतियोगिताको उत्कृष्ट गोलरक्षक सहलेसका सागर मगर भए । प्रतियोगिताको सर्वाधिक गोलकर्ता सहलेसका विकी चापलिङ राई भए। प्रतियोगिताको सर्वाधिक गोलकर्ता
उत्कृष्ट मिटफिल्डर सहलेशका सुनिल खड्का भए । उत्कृष्ट डिफेन्डर सहलेसका सबिन घिमिरे भए ।
उत्कृष्ट फरवार्ड खेलाडी यङ ब्रदरका विदेशी खेलाडी फोफोना भए ।
प्रतियोगिताको उदीयमान खेलाडी बसाहा क्लबका नम्मुहाङ राई भए। विभिन्न विधाका यी उत्कृष्ट खेलाडीहरूले पाँच-पाँच हजारका दरले पुरस्कार प्राप्त गरे।
प्रजातन्त्र सेनानी स्वर्गीय नारदमूनि थुलुङको स्मृतिमा बसाहा क्लबले खेलाउँदै आएको गोल्डकप उदयपुरकै प्रतिष्ठित प्रतियोगिता हो । प्रतियोगितालाई चौदण्डीगढी नगरपालिकासहित देशविदेशमा रहेका विभिन्न व्यक्ति र संघसंस्थाको सहयोग रहेको थियो।
