धनकुटामा भारतीय कारमा नेपाली नम्बर प्लेट प्रयोग गरी गाँजा ओसारपसार

बा१०च ५६१५ नेपाली नम्बर प्लेट प्रयोग गरिएको उक्त कार भारतीय बीआरडब्लू ११ एच४ ८७५ नम्बरको रहेको खुलेको छ ।

माघ २१, २०८२

विनोद घिमिरे

Marijuana smuggled in Indian car using Nepali number plates in Dhankuta

धनकुटा — धनकुटा प्रहरीले नेपाली नम्बर प्लेट प्रयोग गरी गाँजा बोकेको भारतीय कार नियन्त्रणमा लिएको छ । कोशी राजमार्गमा पर्ने साँगुरीगढी गाउँपालिका–६ फेदीबाट धरानतर्फ जाँदै गरेको कार गाँजासहित नियन्त्रणमा लिइएको धनकुटाका प्रहरी उपरिक्षक सरतकुमार थापा क्षेत्रीले बताए ।

धनकुटाको मूलघाटबाट धरान जाँदै गरेको बा१०च ५६१५ नम्बरको कार ९० केजी गाँजासहित नियन्त्रणमा लिइएको हो । कार भारतीय रहेको र नेपाली नम्बर प्लेट प्रयोग गरिएको एसपी थापाले बताए ।

उक्त कार भारतीय बीआरडब्लू ११ एच४ ८७५ नम्बरको रहेको खुलेको छ । कारभित्र ४ वटा बोरामा प्याक गरिएको अवस्थामा ९० केजी गाँजा बरामद भएको थियो । कार अहिले मुलघाट प्रहरीको नियन्त्रणमा छ । 

कार छोडेर फरार भएका चालक र अर्का एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

विनोद घिमिरे घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully