सबै दलका उम्मेदवार आ–आफ्ना पार्टीका आन्तरिक रणनीतिक योजना बनाउन र मतदाताका अपेक्षा बुझ्न गाउँ पुग्न थालेका हुन् ।
What you should know
धनकुटा — जिल्लामा जाडो घटेको छैन । तर, प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै जिल्लामा चुनावी सरगर्मी बढ्दो छ । एक निर्वाचन क्षेत्र रहेको जिल्लाका उम्मेदवार अहिले चुनावी भेटघाटमा व्यस्त छन् । १७ उम्मेदवारमध्ये अधिकांश यतिबेला चुनावी रणनीति र कार्यकर्ता भेटघाट गरिरहेका छन् ।
सबै दलका उम्मेदवार आ–आफ्ना पार्टीका आन्तरिक रणनीतिक योजना बनाउन र मतदाताका अपेक्षा बुझ्न गाउँ पुग्न थालेका छन् । तीन नगर र चार गाउँपालिका रहेको जिल्लामा उम्मेदवार अहिले पहिलो चरणको प्रचार अभियानमा जुटेका छन् ।
एमालेले सबै पालिकामा पहिलो चरणको पार्टीका बैठक तथा चुनावी रणनीतिका कार्यक्रम पूरा गरिसकेको जनाएको छ । उक्त पार्टीबाट उम्मेदवार राजेन्द्रकुमार राई चौथो पटक संसदीय निर्वाचनमा होमिएका छन् । आइतबार दिउँसो चौबिसे गाउँपालिका–७ राजारानीमा पुगेका उनले निर्वाचनका लागि पार्टीका नेता–कार्यकर्तासँग भेटघाट र बैठकमा जुटेको बताए । राई यसअघि दुई पटक सांसद निर्वाचित भइसकेका छन् । उनी यसपटक हृयाट्रिक जितको पर्खाइमा छन् ।
नेपाली कांग्रेसका उम्मेदवार दिनेश राई पहिलोपटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । पार्टी जिल्ला सभापति उनी स्थापित युवा नेता हुन् । यसअघि स्थानीय तह निर्वाचनमा दुईपटक धनकुटा नगरपालिकाका उम्मेदवार बनेका राई झिनो मतान्तरले पराजित भएका थिए । यसपटक त्यसको बदला लिने दाउमा उनी छन् । ग्रासरुट केन्द्रित कार्यकर्ता भेटघाटमा सबै पालिकामा पुगिसकेको उनले बताए । कांग्रेस सच्चिएर आएकाले यसपटक विजयी हुने उनले दाबी गरे ।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार धर्मराज पौडेलले पनि चारवटा पालिकामा पहिलो चरणको चुनावी अभियान पूरा गरिसकेको जानकारी दिए । छथर जोरपाटी, सहिदभूमि गाउँपालिका र पाख्रीबास तथा महालक्ष्मी नगरपालिकापछि अन्य पालिकामा अभियान थालनी गरिने उनले बताए । उनी राजनीतिक अनुभवमा खारिएका व्यक्ति मानिन्छन् । ०४९ सालमा तत्कालीन जिल्ला विकास समिति सभापति रहेका पौडेल ०६४ सालको संविधानसभा निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेका थिए । त्यसबखत माओवादीका हरिराज खेवासँग झिनो मतान्तरले पराजित भएका थिए । आफ्नो पुरानो साख फर्काउने दाउमा उनी छन् । 
पुस्तान्तरणको नाराका साथ यसपटक अधिकांश युवा नेता उम्मेदवार बनेर मैदानमा उत्रिएका छन् । जसमा सबैभन्दा कान्छा उमेरका उम्मेदवार राप्रपाका विभत्सु थापा हुन् । ३० वर्षीय थापाले राजनीतिमा पुस्तान्तरणको प्रतिनिधि पात्र भएको दाबी गरे । मतदाताको धारणा बुझ्न र निर्वाचन रणनीतिको सरसल्लाहका क्रममा जिल्लाका सबै पालिकामा पुगिसकेको उनले बताए । साइनोमा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका पनाति उनी यसपटक नयाँ पुस्ताले बाजी मार्ने पात्र आफू भएको बताउँछन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश भण्डारी राजनीतिमा आफू युवा प्रतिनिधि भएको बताउँछन् । पहिलो चरणको चुनावी अभियानमा जुटेको उनले बताए ।
स्वतन्त्र उम्मेदवारको रुपमा सामाजिक अभियन्तासमेत रहेका लाक्पा तामाङ छन् । तामाङ पनि गाउँ केन्द्रित चुनावी अभियानमा जुटेको बताउँछन् । यी सँगै श्रम संस्कृतिका सानबहादुर राई, नेपाल मजदुर किसान पार्टीका उत्तम साखकर्मी, आम जनताका प्रेमबहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका बालकुमार ताम्ली र जनता समाजवादीका निशान राई पनि अभियानमा सक्रिय छन् । नेकपा माओवादीका रविनकुमार राई, जनता समाजवादीका आइतराम लिम्बु, राष्ट्रिय परिवर्तन पार्टीका शालिकराम राई, मंगोल नेसनल अर्गनाइजेसनका सागर राई तथा स्वतन्त्र उम्मेदवारद्वय मनकुमार योञ्जन र जीतेन्द्र राईसमेत चुनावी अभियानमा जुटिसकेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार आगामी प्रतिनिधिसभा निर्वाचनका लागि १ सय १९ मतदानस्थल र १ सय ६६ मतदान केन्द्र कायम छन् । यस्तै, कुल १ लाख १८ हजार ४ सय २५ मतदाता रहेका छन् । जसमा ५९ हजार ४ सय ८३ पुरुष र ५८ हजार ९ सय ४२ महिला मतदाता छन् ।
