विसं १९७० सालमा जन्मिएका कर्माचार्य राणा शासनकालकै कठिन परिस्थितिमा पनि शिक्षाको विस्तारमा सक्रिय थिए।
धनकुटा — शिक्षा, सामाजिक सुधार र पूर्वी पहाडमा व्यापार–विकासको आधार निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका गणेशकुमार कर्माचार्यको तामाबाट निर्मित अर्धकदको प्रतिमा अनावरण गरिएको छ।
एक समारोहका बीच धनकुटाको तल्लोकोप्चेमा प्रतिमा सार्वजनिक गरिएको हो। विसं १९७० सालमा जन्मिएका कर्माचार्य राणा शासनकालकै कठिन परिस्थितिमा शिक्षाको विस्तारमा सक्रिय थिए। उनले गोकुन्डेश्वर इंग्लिस स्कुल स्थापना गरी सञ्चालन गर्दै धनकुटामा आधुनिक शिक्षाको सुरुवात गराएका थिए।
त्यस्तै, विसं २०१२ सालमा धनकुटा बहुमुखी क्याम्पस स्थापना गर्न तथा संस्थापक सञ्चालकको भूमिका निर्वाह गरेका थिए। यस्तै २०१६ सालमा बालमन्दिर विद्यालय स्थापना गरी शैक्षिक विकासमा योगदान दिएका थिए ।
सामाजिक अगुवा राजेन्द्र प्रधानका अनुसार कर्माचार्य शिक्षा क्षेत्रसँगै सामाजिक सुधार अभियानमा पनि उत्तिकै सक्रिय थिए। विसं २०१३ सालमा राजा महेन्द्रको धनकुटा भ्रमणका क्रममा उनले राजा चढेको घोडाको लगाम समातेर धरान–धनकुटा मोटरबाटो निर्माण तथा बजार क्षेत्रमा खानेपानी व्यवस्थापनका लागि पहल गरेका थिए।
कर्माचार्य धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरलगायत पहाडी जिल्लामा व्यापारिक गतिविधि विस्तार गर्ने अग्रणी व्यक्तित्वका रूपमा परिचित रहेको प्रधानको भनाइ छ । राजनीतिक क्षेत्रमा समेत सक्रिय कर्माचार्य विसं २०१५ सालको आमनिर्वाचनमा महासभा पार्टीबाट उम्मेदवार बनेका थिए।
