धनकुटामा १ हजार ८५ जना निर्वाचन सुरक्षा प्रहरी छनोट भएका छन्। यो जनशक्तिलाई नेपाल प्रहरीसँग समन्वय गरी परिचालन गरिनेछ।
What you should know
धनकुटा — जिल्लामा निर्वाचन सुरक्षाका लागि छनोट भएका निर्वाचन सुरक्षा प्रहरीलाई आधारभूत तालिम दिन सुरु गरिएको छ। तालिमको औपचारिक उद्घाटन धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले निर्वाचन सुरक्षा प्रहरी दुर्गाबहादुर निरौलालाई लौरो प्रदान गर्दै गरेका हुन्।
माघ १८ गतेबाट औपचारिक रूपमा तालिम सुरु गर्ने मिति तोकिए पनि भौगोलिक रूपमा टाढा–टाढा खटिनुपर्ने भएकाले शनिबारदेखि तालिम सुरु गरिएको धनकुटाका प्रहरी उपरीक्षक (एसपी) सरतकुमार थापा क्षेत्रीले जानकारी दिए।
तल्लो टुँडिखेलमा आयोजित उद्घाटन कार्यक्रममा निर्वाचन सुरक्षा प्रहरीले गर्नुपर्ने कामको प्रकृति, तालिम अवधि, उनीहरूले पाउने सेवासुविधा तथा कारबाहीसम्बन्धी विषयमा जानकारी गराइएको थियो। छनोट भएका उम्मेदवारलाई जिल्ला प्रहरी कार्यालय धनकुटा, छिन्ताङ र राजारानी इलाका प्रहरी कार्यालय, पाख्रीवास, हिले, भेडेटार लगायतका स्थानमा १० दिनको आधारभूत तालिम दिइने जनाइएको छ। पायक पर्ने स्थानमै तालिमको व्यवस्था गरिएको र माघ २५ गतेपछि उनीहरूलाई कार्यक्षेत्रमा परिचालन गरिने एसपी थापा क्षेत्रीले बताए।
धनकुटामा १ हजार ८५ जना निर्वाचन सुरक्षा प्रहरी छनोट भएका छन्। यो जनशक्तिलाई नेपाल प्रहरीसँग समन्वय गरी अति संवेदनशील मतदान स्थलमा १० जना, संवेदनशीलमा ६ जना र सामान्य मतदान स्थलमा ५ जनाका दरले परिचालन गरिनेछ।
जिल्लामा कुल १ सय १९ मतदान स्थल र १ सय ६६ मतदान केन्द्र रहेका छन्। तीमध्ये १६ मतदान स्थल अति संवेदनशील, ४९ संवेदनशील र बाँकी मतदान स्थल सामान्य रहेको प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिए। यसैबीच, निर्वाचन सुरक्षा प्रहरीको बैंक खाता खोल्ने प्रक्रिया सुरु गरिने भएको छ। पहिलेदेखि बैंक खाता भएका सुरक्षाकर्मीको खातामै तलब तथा सुविधा पठाइने र खाता नभएकालाई आफूलाई पायक पर्ने बैंकमा खाता खोल्न भनिएको एसपी थापाले बताए। धनकुटामा १ लाख १८ हजार ४ सय २४ मतदाता छन् ।
