वक्ताहरूले सहिदहरूको त्यागकै कारण लोकतान्त्रिक अभ्यास सम्भव भएको उल्लेख गर्दै राष्ट्र निर्माणमा सहिदको सपना पूरा गर्न सबैको दायित्व भएको उल्लेख गरे ।
धनकुटा — सहिदहरूको बलिदानलाई स्मरण गर्दै धनकुटामा शुक्रबार सहिद दिवस विशेष कार्यक्रम गरि मनाइएको छ । उक्त अवसरमा प्रभातफेरी र सभा आयोजना गरिएको छ ।
धनकुटा–६ स्थित सहिद भीमनारायण श्रेष्ठको सालिकमा माल्याअर्पण गर्दै सुरु भएको प्रभातफेरी बजारका विभिन्न भागको परिक्रमा गरि बसपार्कस्थित सहिदस्तम्भमा सभा आयोजना गरिएको थियो ।
कार्यक्रममा सहिदप्रति पुष्पाञ्जली अर्पण गर्दै उनीहरूको योगदानको स्मरण गरियो । वक्ताहरूले सहिदहरूको त्यागकै कारण लोकतान्त्रिक अभ्यास सम्भव भएको उल्लेख गर्दै राष्ट्र निर्माणमा सहिदको सपना पूरा गर्न सबैको दायित्व भएको उल्लेख गरे ।
सहिद दिवस मूल समारोह सहिद सरोकार समाज, सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान, धनकुटा स्मृति प्रतिष्ठान, सहिद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठान, सहिद स्मृति अध्ययन केन्द्र तथा हुसाडेक नेपाल धनकुटाको संयुक्त आयोजना गरिएको थियो ।
उक्त अवसरमा सहिद सरोकार समाजका अध्यक्ष तिलकप्रसाद राई, भीमनारायण श्रेष्ठ, स्मृति प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ, सहिदपुत्र मनोहरनारायण श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी विनोद खड्का लगायतले धारणा राखेका थिए ।
उक्त अवसरमा स्थानीय बासिन्दा, सामाजिक अभियन्ता, राजनीतिक दल, प्रशासन तथा संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । वक्ताहरुले दिवस केवल औपचारिकतामा सीमित नराखी भावी पुस्तालाई सहिदको विचार, त्याग र आदर्शबारे सचेत गराउनुपर्नेमा जोड दिए ।
