सहकारी मार्फत मलको कालोबजारी, २ सय बोरा नियन्त्रणमा

कटारीका किसानका लागि आएको युरिया मल कालोबजारी गरेर सिन्धुलीको दुधौलीका एक व्यापारीलाई पठाइरहेको अवस्थामा प्रहरीले बिहीबार बेलुका मल नियन्त्रणमा लिएको हो।

माघ १६, २०८२

राकेश नेपाली

Black marketing of fertilizer through cooperatives, 200 bags seized

What you should know

उदयपुर — उदयपुरको कटारीमा २०० बोरा भन्दा बढी रसायनिक मल प्रहरीले नियन्त्रणमा लिएको छ।

कटारीका किसानका लागि आएको युरिया मल कालोबजारी गरेर सिन्धुलीको दुधौलीका एक व्यापारीलाई पठाइरहेको अवस्थामा प्रहरीले बिहीबार बेलुका मल नियन्त्रणमा लिएको हो। 

पेशल भट्टराई र हिरा बास्तोला संचालक रहेको दुर्गा भवानी सहकारी संस्थाले कटारीका लागि आएको अनुदानको युरिया मल कालोबजारी गरेर दुधौली पठाइरहेको सूचना पाएपछि किसान संघर्ष समितिका संयोजक गणेश थापालगायतको टोलीले फेला पारेर प्रहरीको जिम्मा लगाएको कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए। समितिको पहलमा मल र संलग्न व्यक्तिहरूलाई दुधौली प्रहरीको जिम्मा लगाइएको नगरप्रमुख श्रेष्ठले बताए । 

किसानहरूले मलको चरम अभाव झेलिरहेका बेला सहकारीले नै अनुदानको मल अन्यक्र बित्रीका लागि पठाउनु गैरकानुनी कार्य भएको किसान संघर्ष समितिको भनाइ छ । समितिले घटनामा संलग्न सबैमाथि कडा कारबाही गर्न माग गरेको छ । 

समिति संयोजक थापाले मल वितरण प्रक्रियामा कमिसन, कालोबजारी र कृत्रिम अभाव सिर्जना भइरहेको आरोप लगाए । कटारी नगरपालिकाकी उपप्रमुख गीता खड्काको संयोजकत्वमा मल बिक्रीका लागि सहकारी संस्थाहरूलाई सिफारिस गर्ने समिति गठन गरिएको छ । उक्त समिति र कृषि शाखाको सिफारिसमा आउने मलमा समेत कालोबजारी हुने गरेको किसानहरूको गुनासो छ । 

घटनापछि कटारी नगर उपप्रमुख  तथा स्थानीय मल वितरण व्यवस्थापन समिति संयोजक खड्काको अध्यक्षतामा बसेको बैठकले दुर्गा भवानी कृषि सहकारी संस्थाले गरेको मल बिक्री सम्बन्धी प्रमाणपत्र खारेजीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरिएको छ ।

यस्तै, कटारी नगरपालिकाभित्र रहेका मल विक्रेताका गोदाममा संयुक्त अनुगमन गर्ने निर्णयसमेत बैठकले गरेको छ । घटनाबारे दुधौली प्रहरीले पनि अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully