पार्टीका तर्फबाट धनकुटामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका राजेन्द्रकुमार राईले धरान–लेउती सुरुङमार्गदेखि गाँजा खेतीलाई वैधानिकता दिलाउनेसम्मका योजना उल्लेख गरे ।
धनकुटा — नेकपा एमाले धनकुटाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीका तर्फबाट संकल्प तथा प्रतिबद्धता सार्वजनिक गरेको छ । एमाले जिल्ला कमिटीले बुधबार पत्रकार भेटघाटमार्फत उक्त प्रतिबद्धता सार्वजनिक गरेको हो ।
उक्त अवसरमा जारी प्रेस विज्ञप्तिमा विभिन्न महत्त्वाकांक्षी योजना समेटिएको छ । पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्रकुमार राईले धरान–लेउती सुरुङमार्गदेखि गाँजा खेतीलाई वैधानिकता दिलाउनेसम्मका योजना रहेको उल्लेख गरे ।
जिल्लामा शिक्षण अस्पताल निर्माण, चौबिसे र महालक्ष्मीमा नमुना सहर, चिया, एभोकाडो, सुन्तला, किवी लगायत उपजलाई व्यावसायिक उत्पादन, प्रशोधन र बजारीकरणको कार्य गरिने प्रतिबद्धतामा उल्लेख छ । उक्त अवसरमा युवा पुस्ता केन्द्रीय योजनाअन्तर्गत जेनजीहरूलाई आधुनिक प्रविधिमार्फत नवप्रबर्द्धनात्मक सिकाइ र आय आर्जनमा केन्द्रित गरिने तथा आधुनिक रंगशाला र प्रादेशिक निर्वाचन क्षेत्रमा राष्ट्रिय मापदण्डको खेलग्राम निर्माण गरिने बताइएको छ ।
नमस्ते झरना–नाम्जे केवलकार, आधुनिक कोल्डस्टोर निर्माण, विभिन्न स्थानमा पर्यटकीय गन्तव्यका रूपमा योजना अघि सारिने, खुवालुङ लालीगुराँस तथा बराहक्षेत्र मिक्लाजुङ सांस्कृतिक याक्थुङ पदमार्गको विकास, कृषि उत्पादनका लागि किसानलाई अनुदान र सरल ब्याजदरमा ऋण उपलब्ध लगायतका सवाल प्रतिबद्धतामा समेटिएको छ ।
