धनकुटामा नेपाल प्रहरीतर्फ ९ सय ८९ र सशस्त्र प्रहरीमा ९६ जना गरी १ हजार ८५ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ।
धनकुटा — धनकुटामा दोस्रो पटक म्याद थप गरेपछि मात्रै निर्वाचन प्रहरीका लागि आवश्यक संख्यामा आवेदन परेको छ ।
धनकुटाका लागि तोकिएको निर्वाचन प्रहरीको संख्या अपुग दुई पटकसम्म आवेदनका लागि म्याद थपिएको थियो। धनकुटामा नेपाल प्रहरीतर्फ ९ सय ८९ र सशस्त्र प्रहरीमा ९६ जना गरी १ हजार ८५ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ।
दोस्रो पटकमा भने माग भन्दा बढी आवेदन परेको र छनौटको काम सकेर नतिजा प्रकाशनको तयारी भइरहेको धनकुटाका प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीले जानकारी दिए। छनौट भएका निर्वाचन प्रहरीलाई माघ १५ गतेदेखि धनकुटाको तल्लो टुँडिखेलमा आधारभूत तालिम दिएर कार्यक्षेत्रमा परिचालन गरिने थापाको भनाई छ ।
धनकुटामा १ लाख १८ हजार ४ सय २५ मतदाता छन् । मतदानका लागि १ सय १९ मतदानस्थल र १ सय ६६ मतदान केन्द्र तोकिएको छ । जसमध्ये १६ मतदानस्थल अति संवेदनशीलको सूचीमा छन् । यस्तै ४९ संवेदनशील र ५४ मतदानस्थललाई सामान्य मानिएको छ । संवेदनशील मतदान केन्द्रमा न्यूनतम ३ जना प्रहरी र १० निर्वाचन प्रहरी रहनेछन् ।
मतदानस्थलको अवस्था, मतदाता संख्या हेरेर प्रहरी थप गर्ने व्यवस्था रहेको एसपी थापा क्षेत्रीको भनाई छ । संवेदनशीलमा न्यूनतम ३ प्रहरी र ६ जना निर्वाचन प्रहरी र समान्यमा ३ जना प्रहरीसँगै ५ जना निर्वाचन प्रहरी रहन्छन् ।
