एमाले उम्मेदवार पूर्वमन्त्री राजेन्द्रकुमार राईले सहिदभूमि गाउँपालिका १ सफाइटारकी ४५ वर्षीय तीर्थकुमारी राईलाई नगदसहित सम्मानित गरेका थिए।
What you should know
धनकुटा — मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै एमाले धनकुटाका प्रतिनिधिसभा सदस्य उम्मेदवार पूर्वमन्त्री राजेन्द्रकुमार राईलाई सचेत गराएको छ।
एमाले उम्मेदवार राईले मतदाता प्रभावित पार्नेगरी सहिदभूमि गाउँपालिका १ सफाइटारकी ४५ वर्षीय तीर्थकुमारी राईलाई नगदसहित सम्मानित गरेको भन्दै कांग्रेस धनकुटाका सभापति तथा कांग्रेस उम्मेदवार दिनेश राईले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार उजुरी गरेका थिए।
एमाले उम्मेदवार राईले सहिदभूमि गाउँपालिका १ सफाइटारकी बाासुरी बादक तीर्थकुमारी राईलाई पाँच हजार नगदसहित सम्मानपत्र वितरण गरको तस्बिरबारे सामाजिक सञ्जालमा चर्चा भएको थियो । सोही उजुरीमाथि छानबिन गर्दा निर्वाचन आचारसंहिता उल्लंघन भएको ठहर गर्दै सचेत गराइएको धनकुटाका सहायक निर्वाचन अधिकृत ईन्द्रकुमार योङहाङले बताए ।
योङहाङले भने, ‘पैसा लेनदेन गर्नु आचारसंहिता विपरित हो, आइन्दा यसो नगर्नु भनेर सचेत गराएका छौं । सोही व्यहोराको पत्र उम्मेदवारका मान्छेलाई बुझाइएको छ ।’
बासुरीबादक राईलाई पुरस्कृत गर्न पूर्वमन्त्री तथा एमाले धनकुटाका उम्मेदवार राई, कोशी प्रदेशसभा सदस्य निरन राई, सहिदभूमि गाउँपलिकाका अध्यक्ष मनोज राई र उपाध्यक्ष रत्नश्वरी राई समेत त्यहाँ पुगेका थिए ।
यता एमाले धनकुटाका प्रचारविभाग प्रमुख रविन कटेलले भने आफ्ना उम्मेदवारले आचारसंहिता उल्लघंन नगरेको भन्दै राजेन्द्रकुमार राईको बचाउ गरे । उनले भने, ‘राजेन्द्र राईले पैसा बाँड्नु भएको होइन, यो पूर्वनिधारित कार्यक्रम थियो, बिचमा ब्यस्तताले भ्याइएन, उम्मेदवारले पैसा दिएको पनि होइन । गाउँपालिका अध्यक्षले दिएको हो । उहाँले नगद दिनुभएको होइन सम्मान मात्रै गर्नुभएको हो ।’
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ को दफा ४८ को उप दफा १ मा आचारसंहिता उल्लंघन भएमा १ लाख रुपैयाासम्म जरिवाना वा उम्मेदवारी रद्द गर्न सक्नेसम्मको कारबाही हुने उल्लेख छ ।
