घुन्साका मतदाता फागुन दोस्रो साता गाउँ फर्किने अपेक्षा

३१ सय मिटर उचाइको घुन्साका आधाभन्दा बढी मानिस यतिबेला ताप्लेजुङ बाहिर काठमाडौं, धरान, भारतको दार्जिलिङलगायतका स्थानमा छन्।

माघ १२, २०८२

आनन्द गौतम

Voters from Ghunsa expected to return to village in second week of Falgun

ताप्लेजुङ — ३१ सय मिटर उचाइमा रहेको घुन्सा आधारभूत विद्यालय फागुन १० देखि खुल्ने भएको छ।

विराटनगरमा रहेका प्रधानाध्यापक विद्यानन्द सिंहले फागुन ९ मा घुन्साको बस्तीमा पुगेर भोलिपल्टदेखि विद्यालय खुलाउने जानकारी दिए। उनको बुझाईमा विद्यार्थी भने १८/२० पछि मात्रै विद्यालय पुग्ने छन् । ‘फागुन ६ गते शेर्पा समुदायले मनाउने ल्होसार छ,’ सिंहले भने, ‘अहिलेसम्मको ट्रेण्ड हेर्दा ल्होसार मनाएपछि बल्ल फर्कने सुरसार हुन्छ । १५ गतेसम्म गाउँका मान्छे बस्तीमा पुग्ने सम्भावना देखिन्छ ।’

घुन्साका आधाभन्दा बढी मानिस यतिबेला ताप्लेजुङ बाहिर काठमाडौं, धरान, भारतको दार्जिलिङलगायतका स्थानमा छन्। ३१ सय मिटर उचाइकै अर्को बस्ती ओलाङचुङगोलाका बासिन्दा भने आधाजति बस्तीमै छन् । यहाँका बासिन्दा बस्ती नै रित्याएर बाहिर जाँदैनन् । तर चिसोयाममा खासै काम नहुने भएकाले आफन्त भेटघाटलगायतका लागि सदरमुकाम फुङलिङ, राजधानी काठमाडौंतिर जान्छन् । उनीहरु प्रायः फागुन सुरु भएपछि मात्रै फर्कन्छन् । 

जिल्लाकै उच्च स्थानमा रहेको ४२ सय मिटर उचाइको याङ्माका बासिन्दा भने गाउँमै छन्। हरेक वर्षको हिउँदयाममा चेने भन्ने स्थानमा झर्ने उनीहरुले गत वर्षदेखि बस्तीमै बस्ने अभ्यास प्रारम्भ गरेका छन् । यो वर्ष पनि उनीहरु बस्तीमै छन् । 

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनकालागि जिल्लाका उच्च स्थानमा रहेका मतदान केन्द्र यीनै हुन् । ‘ल्होसार मनाएर बस्ती फर्कँने भएकाले मतदाताको तर्फबाट समस्या देखिँदैन । त्यो बेला हिउँ परेको खण्डमा मतदान गराउने कर्मचारीकालागि भने समस्या हुनसक्छ,’ फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पा लामाले भने, ‘हाम्रोमा पहिल्यैदेखि भोट माग्न नेताहरु बस्तीसम्म पुग्दैनन्, स्थानीय तह बाहेकको चुनावमा बाहिर रहेका मतदाता पनि आउँदैनन् । गाउँमा रहेकाहरुले मतदान गर्छन्, तिनीहरु फागुन २० सम्म बस्तीमा पुग्लान् ।’

याङमामा ६१, ओलाङचुङगोलामा २ सय ७६ र घुन्सामा १ सय ६६ मतदाता छन् । तर अघिल्लो निर्वाचनमा याङमामा १३ र ओलाङचुङगोलामा ९६ मत मात्रै खसेको थियो । ओलाङचुङगोला र घुन्सामा यस वर्ष पनि एक सयको हाराहारी मत खस्ने वडाध्यक्षहरुको अनुमान छ । 

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully