उम्मेदवार नफेरिए पनि मतदाताको बद्लिँदो मनोदशाले झापा–४ को चुनावलाई चुपचाप तर गहिरो अर्थमा निर्णायक बनाइरहेको छ ।
What you should know
झापा — झापा क्षेत्र नम्बर ४ अन्य क्षेत्रहरूको तुलनामा जिल्लामा सधैं कम चर्चामा पर्ने ‘लो–प्रोफाइल’ क्षेत्रका रूपमा चिनिँदै आएको छ । यहाँ हरेक निर्वाचनमा उम्मेदवारका अनुहार दोहोरिन्छन् ।
यसपटकको दृष्य अलि भिन्न छ। उम्मेदवार नफेरिए पनि यसपटक मतदाताको मन फेरिने सम्भावना प्रवल देखिन्छ। मतदाताको बद्लिँदो मनोदशाले झापा–४ को चुनावलाई चुपचाप तर गहिरो अर्थमा निर्णायक बनाइरहेको छ ।
एमालेका लालप्रसाद (एलपी) साँवा लिम्बुले झापा–४ बाट २०७४ र २०७९ को निर्वाचन जितिसकेका छन् । यसपटक उनी जितको ह्याट्रिक पूरा गर्छन् कि अरू कुनै उम्मेदवारले नयाँ अध्याय सुरुआत गर्छन् ? यसको छिनोफानो मतदाताले अब चाँडै गर्नेछन् ।
एमालेको ‘लालकिल्ला’ मानिने यो क्षेत्रमा २०४८ यता चार पटक एमालेले जित हासिल गरेको छ । २०५१ मा चक्रप्रसाद बास्तोला र २०६४ मा माओवादीकी धर्मशीला चापागाईंले एमालेको अपराजित यात्रामा ब्रेक लगाए पनि त्यसयता एमालेले निरन्तर जित दोहोर्याउँदै आएको छ ।
तर यसपटकको चुनावी परिस्थिति अघिल्ला निर्वाचनभन्दा केही भिन्न देखिएको छ । खासगरी उम्मेदवार चयनको प्रक्रियाले एमालेभित्र केही समय तरंग पैदा गरेको थियो । गत अघिल्लो शनिबार सार्वजनिक गरिएको उम्मेदवार सूचीमा झापा–४ बाट एलपी साँवा लिम्बुको नाम थिएन । बरु युवा नेता मनोज ताम्लीको नाम समावेश गरिएको थियो । केन्द्रबाट उम्मेदवार घोषणा भएसँगै ताम्ली चुनावी तयारीमा जुटिसकेका थिए र मतदातासँग भोट माग्न समेत थालिसकेका थिए ।
तर, मनोनयन दर्ताको दुई दिनअघि, ४ माघमा एमालेले निर्णय फेरबदल गर्दै तेस्रो पटक एलपी साँवा लिम्बुलाई नै टिकट दिएको र झापा–४ का ‘आधिकारिक उम्मेदवार’ साँवा नै भएको स्पष्ट गर्यो । यो घटनापछि केही समय एमालेभित्र असहजता देखिएको स्थानीय कार्यकर्ता बताउँछन् । ताम्ली र साँवा पक्षधरहरूले आ–आफ्ना उम्मेदवारले टिकट पाउनुपर्ने दाबी गर्दै आन्तरिक रूपमा असन्तोष व्यक्त गरेका थिए, जसले निर्वाचनमा असर पार्न सक्ने आशंका समेत जन्माएको थियो ।
तर, साँवाले पुनः टिकट पाएपछि पार्टीको चुनावी गतिविधि पुनः लयमा फर्किएको एमाले कार्यकर्ताहरूको दाबी छ । उनीहरूका अनुसार आन्तरिक मतभेदलाई व्यवस्थापन गर्दै पार्टी अहिले एकजुट रूपमा चुनावी मैदानमा उत्रिएको छ ।
एमालेका नेता तथा कोशी प्रदेशसभा सदस्य राधाकृष्ण खतिवडाले पार्टीभित्र कुनै समस्या नरहेको दाबी गर्दै यसपटक पनि एमालेले ह्याट्रिक जित निकाल्ने विश्वास व्यक्त गरे । ‘केही समस्या छैन, हामी एक ढिक्का छौं,’ खतिवडाले भने, ‘हामी जित तेहेर्याउने लक्ष्यका साथ अघि बढेका छौं ।’
सधैंका प्रतिद्वन्द्वी
एलपी साँवा लिम्बु र कांग्रेसका झापा सभापति देउमान थेवेबीचको यो प्रतिस्पर्धा यो लगातार तेस्रो हो । २०७४ को निर्वाचनमा थेवेलाई पराजित गरेका थिए । २०७९ को निर्वाचनमा पनि त्यही दृश्य दोहोरियो । साँवाले २९ हजार ३ सय १५ मत प्राप्त गर्दा थेवे २२ हजार ४ सय ४८ मतमा रोकिए । रास्वपाका शम्भु ढकाल १४ हजार ४९ मतका साथ तेस्रो भए ।
झापा–४ का गाउँ–टोलमा चुनावी मौसम सुरु भएसँगै यी चिरपरिचित प्रतिद्वन्द्वीहरु पुनः चुनावी मैदानमा होमिएका छन्, आ–आफ्नो जित दाबी गर्दै । यसपटक त्रिपक्षीय भिडन्तको सम्भावना देखिन्छ ।
एलपी साँवा समर्थकहरू उनलाई ‘स्थानीय मुद्दा बुझ्ने नेता’ मान्छन्। ‘उहाँ तेस्रो पटक संसद पुग्नु भनेको अधुरा योजनाहरू पूरा गर्ने अवसर पनि हो’, स्थानीय मतदाता हर्कबहादुर योङयाले भने,‘सडक, सिँचाइ, शिक्षा र स्वास्थ्य क्षेत्रमा उनले सुरु गरेका पहललाई निरन्तरता चाहिएको छ ।’ तर, उनका विपक्षीहरुका अनुसार व्यक्ति दोहोरिनु भनेको उनको काम दोहोरिनु हैन ।
थेवे झापा–४ का लागि अपरिचित नेता होइनन् । दुईपटक पराजय बेहोरेका उनी यसपटक ‘हिसाब बराबर’ गर्ने मनस्थितिमा देखिन्छन् । कांग्रेस समर्थकहरूका अनुसार विगतमा पार्टी कमजोर हुँदा पनि थेवेले मतदातासँगको सम्पर्क तोडेनन् । त्यो क्षेत्रका एक कांग्रेस कार्यकर्ता भन्छन्, ‘यो पटकको चुनाव देउमान थेवेका लागि होइन, कांग्रेसका लागि पनि अस्तित्वको प्रश्न हो ।’ तर, थेवेलाई पनि चुनौती भने कम छैन । पुरानो हारको मनोदशा र कांग्रेसभित्रकै आन्तरिक समीकरणले उनको यात्रालाई कठिन बनाएको छ ।
झापा–४ को चुनावलाई रोचक बनाउने अर्को पक्ष हो, तेस्रो शक्तिको उपस्थिति । राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकाल (सुस्केरा) र नेकपाका पुरुषोत्तम चुडालजस्ता उम्मेदवारहरू मत काट्ने पात्र मात्र होइनन् । सकभर जित नै आत्मसात गर्न सक्ने ल्याकत राख्छन्।
अघिल्लो निर्वाचनमा ढकालले १४ हजार ६९ मत प्राप्त गर्नु चानचुने कुरा थिएन । त्यो मत स्थापित दलप्रतिको असन्तुष्टि थियो । यसपटक त्यो असन्तुष्ट अझै बढ्दो छ । सँगै नयाँ मतदाताहरुको रोजाइ पनि पुराना भन्दा नयाँतिरै देखिन्छ। जेन–जी मतदाता राकेश थापाले भने,‘अब पुस्तान्तरण जरुरी छ । नयाँ शक्तिलाई हाम्रो समर्थन रहन्छ ।’
झापा ४ मा झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकाका सवै वडा, कनकाई नगरपालिकाको १ देखि ७ र गौरीगन्ज गाउँपालिकाको वडा १ र २ तथा गौरादह नगरपालिकाको वडा नम्बर ९ समेटिएको छ। यो क्षेत्रमा १ लाख ३० हजार ७ सय १२ मतदाता छन्। यसपटक ७ हजार ५ सय ८८ जना नयाँ मतदाता थपिएका छन्।
