विराटनगरमा शनिबार सम्पन्न एलायन्सको दोस्रो अधिवेशनले थापालाई तीन वर्षका लागि सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको हो ।
धनकुटा — मानवअधिकार एलायन्स कोशी प्रदेशको अध्यक्षमा धनकुटाका निलबहादुर थापा चयन भएका छन् ।
विराटनगरमा शनिबार सम्पन्न एलायन्सको दोस्रो अधिवेशनले थापालाई तीन वर्षका लागि सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको हो । नवगठित कार्यसमिति १७ सदस्यीय रहने भए पनि ११ जना मात्रै चयन भएका छन् । बाँकी ६ जना क्षेत्र, भूगोल र जातीय सन्तुलन मिलाएर मनोनीत गरिने छ ।
मानवअधिकार संरक्षण, प्रवर्द्धन तथा उल्लंघनका घटनाविरुद्ध सशक्त आवाज उठाउने उद्देश्यसहित गठित एलायन्सले कोशी प्रदेशभर आफ्नो गतिविधि विस्तार गर्ने जनाएको छ । नवनिर्वाचित अध्यक्ष थापाले मानवअधिकारको सम्मान र संरक्षणका लागि नागरिक समाज, सरोकारवाला निकाय तथा राज्य संयन्त्रसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले कोशी प्रदेशमा मानवअधिकारसम्बन्धी चेतना अभिवृद्धि, पीडितलाई न्याय दिलाउने पहल तथा संविधानप्रदत्त मौलिक हकको कार्यान्वयनमा एलायन्स सक्रिय रहने जनाए ।
