धनकुटाका लागि तोकिएको निर्वाचन प्रहरीको संख्या अपुग भएपछि शनिबार र आइतबार फेरि आवेदन लिइरहेको धनकुटाका एसपी सरतकुमार थापा क्षेत्रीले बताए।
What you should know
धनकुटा — आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा आवश्यक भन्दा कम दरखास्त परेपछि निर्वाचन प्रहरीको आवेदन म्याद पुनः दुई दिन थप गरिएको छ।
धनकुटाका लागि तोकिएको निर्वाचन प्रहरीको संख्या अपुग भएपछि शनिबार र आइतबार फेरि आवेदन लिइरहेको धनकुटाका एसपी सरतकुमार थापा क्षेत्रीले बताए।
उनले निर्वाचन प्रहरीका लागि जिल्ला प्रहरी धनकुटा, सशस्त्र प्रहरी बलको छिन्ताङ गुल्म छारागाउँ, इलाका प्रहरी कार्यालयहरु राजारानी र छिन्ताङबाट आवेदन लिइने जनाए।
धनकुटामा नेपाल प्रहरी तर्फ ९ सय ८९ र शसस्त्र प्रहरीमा ९६ जना गरी १ हजार ८५ जनाको कोटा थियो। यसअघि पनि तोकिएको संख्यामा दरखास्त नपरे पछि दुई दिन म्याद थपिएको थियो। त्यसबेला पनि निर्वाचन प्रहरीका लागि दुवै संगठनमा अपेक्षित दरखास्त परेन। संख्या कम भएकाले दुई दिन म्याद थप्नु परेको एसपी थापाको भनाई छ। थापाले भने, ‘शनिबार र आइतबार आवेदन लिन्छौं । अब थपिने र पहिले छनोट भएकालाई एकै पटक तालिम दिन्छौं ।’
धनकुटामा १ लाख १८ हजार ४ सय २५ मतदाता छन्। जसका लागि १ सय १९ मतदानस्थलमा १ सय ६६ मतदान केन्द्र तोकिएको छ। जसमध्ये १६ मतदानस्थल अति संवेदनशील सूचीमा रहेको एसपी थापा क्षेत्रीले बताए। यस्तै ४९ संवेदनशील र ५४ मतदानस्थल सामान्य छन्। संवेदनशील मतदान केन्द्रमा न्यूनतम ३ प्रहरी र १० जना निर्वाचन प्रहरी रहन्छन्।
मतदानस्थलको अवस्था, मतदाता संख्या हेरेर प्रहरी थप गर्ने व्यवस्था रहेको एसपी थापा क्षेत्रीले बताए। संवेदनशीलमा न्यूनतम ३ प्रहरी र ६ जना निर्वाचन प्रहरी र सामान्यमा ३ जना प्रहरीसँगै ५ जना निर्वाचन सुरक्षा प्रहरी रहन्छन्।
