राप्रपा समानुपातिक उम्मेदवारविरुद्ध पार्टीकै केन्द्रीय सदस्यले दिइन् निर्वाचन आयोगमा उजुरी

निर्वाचन आयोगले थापासहित अन्य २ जना उम्मेदवारलाई सबुद प्रमाणका साथ माघ १३ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेभित्र अनिवार्य रूपमा उपस्थित हुन भनेको छ ।

माघ १०, २०८२

विनोद घिमिरे

A central member of the party has filed a complaint with the Election Commission against the RPP proportional candidate.

What you should know

धनकुटा — प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिक बन्द सूचीका उम्मेदवार कुमारबहादुर थापाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

राप्रपा धनकुटाका अध्यक्ष तथा केन्द्रीय समितिका सदस्यसमेत रहेका थापाविरुद्ध राप्रपाकै केन्द्रीय सदस्य पाख्रिबास–५ की पवित्रा श्रेष्ठले उजुरी दर्ता गराएकी हुन् । 

निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति अनुसार थापाले धनकुटाको उत्तरपानीस्थित चिया बगानको जग्गा अनधिकृत रुपमा बेचबिखन गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परी विचाराधीन रहेको उल्लेख छ । भ्रष्टाचार नियन्त्रणको नारा दिने पार्टीले भ्रष्टाचारमै नाम जोडिएका व्यक्तिलाई समानुपातिक बन्द सूचीमा अघि बढाएपछि उजुरी गर्नु परेको केन्द्रीय सदस्य श्रेष्ठले कान्तिपुरलाई बताइन् । 

थापाबिरुद्ध उजुरी गरेकै कारण कारबाही भोग्नु परे आफू तयार रहेको उनले जनाइन् । ‘उजुरी गरेको भनेर पार्टीले कारबाहीको कुरा गर्न सक्ला, तर मैले विधि र पद्धतिको कुरा उठाएकी हुँ,’ उनले भनिन् । श्रेष्ठले आयोगमा उजुरी दिएर धनकुटा फर्कंदै गरेको जनाइन् । उता थापाले भने आफूविरुद्ध निर्वाचन आयोगमा परेको उजुरीबारे समाचारमार्फत जानकारी पाएको प्रतिक्रिया दिए । थापाले भने, ‘मैले पनि यो कुरा सञ्चारमाध्यमबाटै थाहा पाएँ, यसमा मेरो कुनै प्रतिक्रिया छैन, नो कमेन्ट ।’ समानुपातिक बन्द सूचीको ३७ नम्बरमा थापाको नाम छ । 

निर्वाचन आयोगले थापासहित अन्य २ जना उम्मेदवारलाई सबुद प्रमाणका साथ माघ १३ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेभित्र अनिवार्य रूपमा उपस्थित हुन भनेको छ । आयोगले बोलाएको समयमा उपस्थित नभए कानुनने व्यवस्था गरेबमोजिम हुने जनाइएको छ । यसअघि राष्ट्रिय प्रजातन्त्रपार्टी धनकुटाका अध्यक्ष कुमारबहादुर थापा र केन्द्रीय सदस्य पवित्रा श्रेष्ठले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारका छुट्टाछुट्टै सूची केन्द्रमा पठाएका थिए । थापा र श्रेष्ठले छुट्टाछुट्टै लेटरप्याड प्रयोग गरी आ–आफ्नो ढंगबाट प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारको नाम केन्द्रीय समितिमा पठाएका थिए ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully