धनकुटाका लागि तोकिएको निर्वाचन प्रहरीको संख्या अपुग भएपछि शनिबार र आइतबार फेरि आवेदन लिने तयारी गरिएको धनकुटाका प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीले बताए ।
धनकुटा — आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा आवेदन भन्दा कम दरखास्त परेपछि समस्या भएको छ ।
धनकुटाका लागि तोकिएको निर्वाचन सुरक्षा प्रहरीको संख्या अपुग भएपछि शनिबार र आइतबार फेरि आवेदन लिने तयारी गरिएको धनकुटाका प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीले बताए । उनले निर्वाचन सुरक्षा प्रहरीका लागि जिल्ला प्रहरी कार्यालय धनकुटा, सशस्त्र प्रहरी बलको छिन्ताङ गुल्म छारागाउँ, इलाका प्रहरी कार्यालयहरू राजारानी र छिन्ताङबाट आवेदन लिइने जनाए ।
धनकुटामा नेपाल प्रहरीतर्फ ९ सय ८९ र सशस्त्र प्रहरीमा ९६ जना गरी जम्मा १ हजार ८५ जनाको कोटा थियो । यसअघि पनि तोकिएको संख्यामा दरखास्त नपरे पछि दुई दिन म्याद थपिएको थियो । त्यसबेला पनि निर्वाचन सुरक्षा प्रहरीका लागि दुवै संगठनमा अपेक्षित दरखास्त परेन । संख्या कम भएकाले दुई दिन म्याद थप्नु परेको एसपी थापाको भनाइ छ । थापाले भने, ‘शनिबार र आइतबार आवेदन लिन्छौं । अब थपिने र पहिले छनोट भएकालाई एकै पटक तालिम दिन्छौ ।’
धनकुटामा १ लाख १८ हजार ४ सय २५ मतदाता छन् । जसका लागि १ सय १९ मतदानस्थलमा १ सय ६६ मतदान केन्द्र तोकिएको छ । जसमध्ये १६ मतदानस्थल अति संवेदनशीलको सूचीमा रहेको एसपी थापा क्षेत्रीको भनाइ छ ।
यस्तै, ४९ संवेदनशील र ५४ मतदानस्थल सामान्य छन् । संवेदनशील मतदान केन्द्रमा न्यूनतम ३ जना प्रहरी र १० जना निर्वाचन सुरक्षा प्रहरी रहन्छन् । मतदानस्थलको अवस्था, मतदाता संख्या हेरेर प्रहरी थप गर्ने व्यवस्था रहेको एसपी थापा क्षेत्रीको भनाइ छ । संवेदनशीलमा न्यूनतम ३ प्रहरी र ६ जना निर्वाचन सुरक्षा प्रहरी र सामान्यमा ३ जना प्रहरीसँगै ५ जना निर्वाचन सुरक्षा प्रहरी रहन्छन् ।
