झापा–१ मा ‘नयाँ अनुहार’को भिडन्त

कांग्रेस, एमाले, रास्वपा, नेकपा तथा श्रम संस्कृति पार्टी सबैले झापा–१ मा नयाँ अनुहारलाई अघि सारेका छन्, जसले यो क्षेत्रको निर्वाचनलाई अझ रोचक बनाएको छ ।

माघ ९, २०८२

पर्वत पोर्तेल

Clash of 'new faces' in Jhapa-1

What you should know

झापा — नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले जितेको झापा–१ मा यसपटक भने ‘नयाँ अनुहार’ बीच रोचक भिडन्त हुँदैछ । लामो समयदेखि चर्चित नेताहरूको वर्चस्व रहँदै आएको यो क्षेत्रमा नयाँ अनुहारका उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । 

मुख्य राजनीतिक दलहरूले यसपटक ‘नयाँलाई मौका’ दिने रणनीति अपनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा तथा श्रम संस्कृति पार्टी सबैले झापा–१ मा नयाँ अनुहारलाई अघि सारेका छन्, जसले यो क्षेत्रको निर्वाचनलाई अझ रोचक बनाएको छ ।

नेपाली कांग्रेसले पार्टीका जिल्ला उपसभापति केशवराज पाण्डेलाई उम्मेदवार बनाएको छ । एमालेले पुराना वामपन्थी पृष्ठभूमिका तथा सहकारीकर्मी रामचन्द्र उप्रेतीलाई मैदानमा उतारेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व सांसद निशा डाँगीलाई उम्मेदवार बनाउँदै संसदीय अनुभवलाई जोड दिएको छ भने नेकपाले इन्जिनियर अशेष घिमिरेलाई अघि सारेको छ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट युवा नेता केवलराम राई उम्मेदवार बनेका छन् । स्थानीय राजनीतिक सन्तुलन, दलभित्रको रणनीति र मतदाताको बदलिँदो मनोदशाले झापा–१ लाई यसपटक ‘नयाँ अनुहारहरूको प्रतिस्पर्धात्मक प्रयोगशाला’ बनाइदिएको स्थानीय मतदाताहरूको भनाइ छ । ‘सधैं पुरानै अनुहार देखिन्थ्यो यसपालि सबै नयाँ र युवा अनुहार देख्दा खुसी लागेको छ’, स्थानीय मतदाता चन्द्रसिंह राजवंशीले भने,‘यसपटक हामीलाई सांसद चुन्न धेरै गाह्रो होला जस्तो छ ।’ 

शर्माले पहिला खोसे, अहिले दिए

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले तेस्रो पालीमा बाजी मारेको क्षेत्र हो, झापा–१ ।

२०७० सालको संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपाका उम्मेदवार सुरेन्द्रकुमार कार्की (राम कार्की) सँग पराजित शर्मा २०७९ को निर्वाचनमा भने बल्ल विजयी भएका थिए ।

तर, चौथो पटक उनले यही क्षेत्रबाट उम्मेदवार बन्न रुचाएनन् । ‘पटक–पटक एउटै मान्छेलाई मात्रै मौका दिनुपर्छ भन्ने छैन, नयाँलाई अवसर दिनुपर्छ,’ भन्दै शर्माले आफू उम्मेदवार नबन्ने सार्वजनिक धारणा राखेका थिए ।

नभन्दै, शर्माकै सिफारिसमा यसपटक नयाँ अनुहारका रूपमा केशवराज पाण्डेले टिकट पाएका छन् । व्यापारिक पृष्ठभूमिका पाण्डे नेपाली कांग्रेस झापाका उपसभापति समेत हुन् । 

२०७९ को स्थानीय तह निर्वाचनमा भने महामन्त्री शर्माले ‘भिटो’ प्रयोग गर्दै कृष्णप्रसाद सिटौला निकट मानिएका पाण्डेको टिकट खोसेर आफू निकट क्षेत्रीय सभापति इन्द्र बुढाथोकीलाई मेयरको उम्मेदवार बनाएका थिए । कांग्रेसको आन्तरिक कलहको फाइदा एमालेका गोपाल बुढाथोकीले उठाए । 

त्यो गल्तीबाट सिक्दै कांग्रेस पुनः एकढिक्का भयो । प्रतिनिधिसभा निर्वाचनमा शर्माले एमालेका अग्नि खरेललाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गरे । 

यसपटक भने शर्माले तीनै पाण्डेलाई टिकट दिलाएर उनलाई गुन लगाएका छन् ।  

क्षेत्रीय समितिले सुरुमा शर्माकै एकल नाम सिफारिस गरेर पठाएको थियो । तर, शर्माले आफू उम्मेदवार नबन्ने स्पष्ट पारेपछि क्षेत्रीय समितिले महिला क्लस्टरबाट बिना तामाङ, आदिवासी जनजातितर्फबाट पंकजविक्रम नेम्वाङ, युवातर्फबाट विक्की मजुम्दार, अधिवक्ता अशोककुमार पोखरेल र सदय पनेरुको नाम पुनः सिफारिस गरेको थियो । 

तर, सबै सम्भावनालाई मध्यनजर गर्दै शर्माले क्षेत्रीय समितिबाट सिफारिस नै नभएका पाण्डेलाई टिकट दिलाएको कांग्रेस श्रोतले जनाएको छ । यता, शर्माले कृष्ण सिटौलाको क्षेत्र झापा ३ मा भने आफू निकट राजेन्द्र घिमिरेलाई उम्मेदवार बनाएका छन् । 

पुराना दललाई चुनौती

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार इन्जिनियर अशेष घिमिरे कम्युनिस्ट राजनीतिका नयाँ पुस्ताका अव्वल नेतामध्ये गनिन्छन् ।  विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा आज पार्टीको केन्द्रीय सदस्य हुँदै प्रतिनिधिसभा उम्मेदवारसम्म आइपुगेको छ ।

घिमिरे चुनावी खर्चलाई ‘भ्रष्टाचारको बीउ’ मान्छन् । त्यसैले उनले मितव्ययी अभियान चलाइरहेका छन् । टेम्पो चढेर चिया बगान पुग्छन्, चिया श्रमिकसँग भलाकुसारी गर्छन् र फर्किन्छन् । चिया श्रमिकको दैनिक ज्यालादेखि सामाजिक सुरक्षा र बिमासम्मका विषय उनका मुख्य एजेन्डा हुन् ।

नेकपा एमालेका रामचन्द्र उप्रेती झापा–१ का लागि नयाँ नाम होइनन् ।  संगठनात्मक राजनीतिमा लामो समय सक्रिय रहेका उप्रेती निष्ठावान् नेताका रूपमा चिनिन्छन् । यद्यपि प्रतिनिधिसभा सदस्यका रूपमा उनी पहिलोपटक प्रत्यक्ष चुनावी मैदानमा उत्रिएका हुन्, जसले यो निर्वाचनलाई उनको राजनीतिक यात्राको निर्णायक मोड बनाएको छ ।

यस्तै, विघटित प्रतिनिधिसभाकी सबैभन्दा कान्छी समानुपातिक सांसद निशा डाँगीका लागि पनि यो पहिलो प्रत्यक्ष चुनावी अनुभव हो ।  राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेका अधिकांश उम्मेदवारझैं डाँगी पनि युवा, स्वच्छ छविकी र महिला उम्मेदवार हुन् । उनको उम्मेदवारीले झापा–१ लाई स्पष्ट रूपमा त्रिकोणात्मक प्रतिस्पर्धातर्फ धकेलेको छ ।

झापा–१ निर्वाचन क्षेत्रभित्र मेचीनगर नगरपालिकाका सबै १५ वडा, भद्रपुर नगरपालिकाका वडा नं. ९ र १० तथा बुद्धशान्ति गाउँपालिकाका वडा नं. ४ देखि ७ सम्म समेटिएका छन् । भौगोलिक र जनसांख्यिक हिसाबले मिश्रित यो क्षेत्रलाई झापाको राजनीतिक रूपमा संवेदनशील निर्वाचन क्षेत्रका रूपमा लिने गरिन्छ ।

यहाँ कुल १ लाख ३१ हजार ६७ जना मतदाता छन् । तीमध्ये पुरुष मतदाता ६५ हजार ८ सय ५८ र महिला मतदाता ६५ हजार २ सय ९ जना छन् । पछिल्लो अद्यावधिकसँगै १० हजार ६ सय ९२ जना नयाँ मतदाता थपिएका छन्, जसले यसपटकको निर्वाचन परिणाममा निर्णायक भूमिका खेल्न सक्ने आकलन गरिएको छ ।

अघिल्लो निर्वाचनको समानुपातिक मत परिणामले झापा–१ को राजनीतिक समीकरण झल्काउँछ । नेपाली कांग्रेसले २५ हजार ४ सय २० मत प्राप्त गरेको थियो भने नेकपा एमालेले २२ हजार ५ सय ४७ मत ल्याएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले १३ हजार ७ सय ५० मत पाउँदै तेस्रो स्थान सुरक्षित गरेको थियो । त्यस्तै, माओवादी केन्द्रले ५ हजार मत पाएको थियो भने नेकपा (एकीकृत समाजवादी) ले ५ सय २९ मतमा सीमित भएको थियो । 

यी अंकहरूले झापा–१ मा मुख्य प्रतिस्पर्धी दलबीचको दूरी साँघुरो रहेको देखाउँछ । नयाँ मतदाता र नयाँ उम्मेदवारको प्रभावले यस पटकको नतिजा अघिल्ला निर्वाचनभन्दा फरक आउन सक्ने आकलन स्थानीयको छ । स्थानीय मतदाता तथा सञ्चारकर्मी ज्ञानेन्द्र निरौलाको बुझाइमा, ‘डाँगीको प्रवेशले परम्परागत राजनीतिक शक्तिहरू हच्किएको जस्तो, सशंकित बनेका जस्तो देखिन्छन् ।’ 

झापा–१ मा यसपटक जित–हारभन्दा पनि मतदाताले कुन पुस्ता, कुन शैली र कुन राजनीतिक भाषालाई रोज्छन् भन्ने प्रश्न बढी पेचिलो बन्दै गएको छ ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully