धनकुटामा दलित र महिला उम्मेदवार शून्य

एमालेका राजेन्द्रकुमार राईबाहेक धनकुटामा सबै नयाँ अनुहार ।

माघ ७, २०८२

विनोद घिमिरे

Zero Dalit and female candidates in Dhankuta

धनकुटा — फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटामा राजनीतिक दल र स्वतन्त्र गरी १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधि सभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा पुराना मुख्य तीन दल, नयाँ र स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउने सबै पुरुष रहेका छन् ।

राजनीतिक दलबाट प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका १४ र स्वतन्त्र तर्फका सबै ४ जना पुरुष रहेको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए । प्रत्यक्षतर्फका १८ मध्ये १४ जनजाति र ४ जना खसआर्य पुरुष छन् । 

धनकुटामा महिला तथा दलितलाई कुनै पनि दलले उम्मेदवार बनाएका छैनन् । धनकुटाबाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका दिनेश राई (आठपहरिया), नेकपा एमालेबाट राजेन्द्रकुमार राई, नेपाली कम्युनिस्ट पार्टीबाट धर्मराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बिभत्सु थापा, नेपाल मजदुर किसान पार्टीबाट उत्तम साखकर्मी, श्रम संस्कृति पार्टीबाट सानबहादुर राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट बालकुमार ताम्ली, आम जनता पार्टीबाट प्रेमबहादुर थापा, जनता समाजवादी पार्टीबाट निशान राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दिनेश भण्डारी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट रविनकुमार राई, जनता समाजवादी पार्टी नेपालबाट आइतराज लिम्बु, राष्ट्रिय परिवर्तन पार्टीबाट शालिकराम राई, मंगोल नेसनल अर्गनाइजेसनबाट सागर राई छन् । 

यस्तै मनकुमार योञ्जन, जीतेन्द्र राई, गंगाराम गोम्देन र लाक्पा तामाङले स्वतन्त्र उमेदवारी दिएका छन् । यीमध्ये राजेन्द्रकुमार राई चौथो पटक प्रतिस्पर्धा गर्दै छन् । एमालेका राई २०७० को दोस्रो संविधानसभा निर्वाचनपछि २०७४, २०७९ र २०८२ मा गरी लगातार चार पटक उम्मेदवार बनेका हुन् । बाँकी राजनीतिक दलका सबै प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नयाँ हुन् ।

विनोद घिमिरे घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully