प्रशासनका अनुसार बुझाइएका हातहतियारहरू निर्वाचन कार्य सम्पन्न भएपछि सम्बन्धित धनीलाई फिर्ता गरिने व्यवस्था गरिएको छ ।
संखुवासभा — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय संखुवासभाले हातहतियार बुझाउन आग्रह गरेको छ ।
जिल्लाभित्र इजाजत प्राप्त गरी व्यक्तिगत रूपमा राखिएका सबै किसिमका हातहतियार तथा खरखजनाहरू निर्वाचन अवधिभर प्रयोगमा नआउने गरी माघ २० गतेभित्र नजिकैको प्रहरी कार्यालयमा बुझाउन जिल्ला प्रशासनले अनुरोध गरेको छ ।
प्रशासनका अनुसार बुझाइएका हातहतियारहरू निर्वाचन कार्य सम्पन्न भएपछि सम्बन्धित धनीलाई फिर्ता गरिने व्यवस्था गरिएको छ । यस कदमले निर्वाचनको समयमा सम्भावित डर, धम्की तथा अवाञ्छित गतिविधि रोक्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले निर्वाचनलाई विश्वसनीय र शान्तिपूर्ण बनाउन सबै नागरिकको सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै, तोकिएको समयसीमाभित्र हातहतियार बुझाउन आग्रह गरे ।
