तिर्खा मेटाउनेदेखि गरिबी घटाउनेसम्मका प्रतिबद्धता ।
धनकुटा — फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटामा दल र स्वतन्त्र गरी १८ जनाको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ता गराउनेमा दुई पटक मन्त्री भइसकेकादेखि भर्खरै राजनीतिमा प्रवेश गरेका युवा पनि छन् ।
नेकपा एमालेबाट चौथो पटक उम्मेदवार बनेका राजेन्द्र राई संविधान र कानुनलाई व्यवस्थित गर्ने, उद्यमका माध्यमबाट रोजगारी बढाउने र गरिबी घटाउने प्रतिबद्धतासहित निर्वाचनमा होमिएका छन् । राई २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । उनले विगतमा आफूले थालेका काम पूरा गर्न चौथो पटक उम्मेदवारी दिएको बताएका छन् । उम्मेदवारी दर्तापछि राईले भने, 'मलाई धनकुटेली जनताको आशीर्वाद छ, उहाँहरूका भावनालाई शिरमा राखेर काम गर्छु ।'
नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई पहिलोपटक प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार बनेका छन् । सीमान्तकृत आठपहरिया समुदायका उनी २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा धनकुटा नगरपालिकामा उम्मेदवार थिए । तर दुवै निर्वाचनमा पराजित भएका थिए ।
फागुन २१ मा हुने निर्वाचनका लागि उम्मेदवारी दिएका उनले धनकुटामा भएका कृषिका सम्भावनालाई व्यवसायीकरण गर्ने, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका काममा लाग्ने जनाएका छन् । उनले धनकुटाबाट भइरहेको बसाइँ सराइ न्यूनीकरणका लागि आफ्नो दीर्घकालीन योजना रहेकाले त्यसको कार्यान्वयनबाट धनकुटालाई गुल्जार बनाउने बताए ।
यस्तै, २४० वर्षसम्म पूर्वको प्रशासनिक केन्द्रको साख फर्काउन धनकुटामा कोशी पहाडी जिल्लाकै नमुना शिक्षा र स्वास्थ्यका पूर्वाधार तयार पारेर सञ्चालनमा ल्याउने जनाए । उनले भने, 'पुराना नेता र नीति फेरिएर आएको कांग्रेसको युवा उम्मेदवार हुँ, धनकुटाको मुहार फेर्नु नै मेरो अन्तिम ध्येय हो ।'
ग्रामीण विकासमा स्नातकोत्तर गरेका धर्मराज पौडेल नेपाली कम्युनिस्ट पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । तत्कालीन (२०५१–०५४) जिविस सभापतिसमेत रहेका पौडेल धनकुटाको भूगोलअनुसारको विकास योजना आफूसँग रहेको दाबी गर्छन् । आफू जिविस सभापति हुँदा कोरेको विकासको मार्गचित्र पूरा गर्न प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएको उनले जनाएका छन् । पौडेल भन्छन्, 'यो जिल्लाको व्यवस्थित विकासका लागि उत्तम योजना मसँग मात्रै छ ।'
राष्ट्रिय प्रजातन्त्र पार्टीले विभत्सु थापालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । धनकुटाको मुगा पुर्ख्यौली घर भएका ३० वर्षीय थापा आफूले युवा पुस्ताको प्रतिनिधित्व गर्ने बताउँछन् । उनले धनकुटाको खानेपानी र सिँचाइको समस्या समाधानका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले धनकुटाको सडक व्यवस्था र आम रोजगारी सृजनामा आफ्नो योगदान रहने जनाए । उनले भने, 'लघु घरेलु र साना उद्योग नै धनकुटाका नागरिकलाई धनी बनाउने माध्यम हुन्, तिनको विकास र प्रवर्द्धनमा मेरो प्राथमिकता रहनेछ ।'
राष्ट्रिय स्वतन्त्र पार्टीले दिनेश भण्डारीलाई उम्मेदवार बनाएको छ । शिक्षा क्षेत्रमा क्रियाशील भण्डारी राजनीतिमा नयाँ हुन् । उनी रास्वपाको उम्मेदवारीपछि मात्रै सार्वजनिक रूपमा राजनीतिमा देखा परेका हुन् । नेपालीले पढाइ र गरिखाने वातावरण नेपालमै तयार गर्न आफ्नो उम्मेदवारी रहेको उनले बताए । भण्डारीले सुशासन र नवीनतम विकासको अवधारणासहित आफू निर्वाचनमा होमिएको बताए ।
श्रम संस्कृति पार्टीले भीरगाउँका युवा सानबहादुर राईलाई उम्मेदवार बनाएको छ । राईले वैदेशिक रोजगारीको पीडादायी अवस्था हटाएर स्वरोजगार र स्वउद्यममा लाग्ने वातावरण सिर्जना गर्न आफ्नो उम्मेदवारी रहेको बताए । उनले भने, 'श्रमदान गरेरै घरपरिवार र मुलुक बनाउन सकिन्छ, त्यो व्यवस्थाको विकास श्रम संस्कृति पार्टीबाट मात्रै सम्भव छ ।'
