जिल्लाका लागि निर्धारित संख्या भन्दा कम आवेदन दर्ता भएपछि दुई दिन समय थप गरिएको हो ।
What you should know
धनकुटा — कोशी प्रदेशका हिमाली र पहाडी जिल्लामा निर्वाचन प्रहरीका लागि दरखास्त आवेदन दर्ताको समय थप गरिएको छ।
जिल्लाका लागि निर्धारित संख्या भन्दा कम आवेदन दर्ता भएपछि दुई दिन समय थप गरिएको हो ।
निर्वाचन प्रहरीमा भर्नाका लागि उमेद्वारले आवेदन दिने म्याद पुस २५ देखि माघ १ गते बिहीबारसम्मका लागि तोकिएको थियो।
तर कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, उदयपुर, संखुवासभा बाहेकका ९ जिल्लामा निर्धारित कोटा भन्दा पनि कम आवेदन परेपछि दुई दिन म्याद थप गरिएको कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले जानकारी दिए।
कोशी प्रदेशका लागि नेपाल र सशस्त्र प्रहरीमा गरी २५ हजार ९ सय ७५ निर्वाचन प्रहरीको कोटा निर्धारण गरिएको छ । जसका लागि बिहीबारसम्म दुवै संगठनमा जम्मा २७ हजार ५ सय ५३ जना उमेद्वारको आवेदन दर्ता भएको छ।
कोशी प्रदेशका १४ जिल्लाका लागि नेपाल प्रहरीले लिने २३ हजार ४ सय २४ निर्धारित कोटामध्ये १ हजार ९ सय ९२ जना अपुग छ । यस्तै सशस्त्र प्रहरी तर्फको २ हजार ५ सय ६१ कोटामा ९ सय १९ जना अपुग रहेको डिआइजी घिमिरेले जानकारी दिए।
नेपाल प्रहरी तर्फ धनकुटाका लागि निर्धारित ९ सय ८९ कोटाका लागि ८ सय ७६ जनाले मात्रै दरखास्त दिएका छन् । यस्तै इलामका लागि निर्धारित १ हजार ७ सय ३४ पदमा १ हजार ४ सय ७४, पाँचथरमा १ हजार १ सय ३१ का लागि ९ सय ७०, भोजपुरमा १ हजार १ मा ८ सय ६८, खोटाङमा १ हजार १ सय ८६ मा ७ सय ९७, ओखलढुंगामा ८ सय ७७ मा ५ सय ७७, सोलुखुम्बुमा ८ सय ५१ मा ६ सय १ र ताप्लेजुङका लागि निर्धारित ८ सय ४६ कोटाका लागि जम्मा ७ सय ७४ जना उमेद्वारले मात्रै दरखास्त आवेदन दर्ता गराएका छन् ।
तेह्रथुमका लागि तोकिएको ५ सय २० कोटाका लागि दुई जना बढी अर्थात ५ सय २२ जनाको आवेदन परेको छ। झापा, मोरङ, सुनसरी र संखुवासभामा भने निर्धारित कोटा भन्दा आवेदकको संख्या बढी देखिएको डिआइजी घिमिरेले जनाए।
नेपाल प्रहरी तर्फ झापाका लागि आवश्यक ४ हजार ३ सय ८ कोटाका लागि ४ हजार ८ सय ५६, मोरङका लागि निर्धारित ४ हजार ३ सय ८८ मध्ये ६ हजार २ सय ७९ तथा ३ हजार १ सय ४९ जनाको कोटा रहेको सुनसरीमा ४ हजार ४ सय २१ जनाको आवेदन दर्ता भएको छ।
उदयपुरमा भने नेपाल प्रहरीमा कम दरखास्त परे पनि शसस्त्र प्रहरीमा आवेदन दर्ता गर्नेको संख्या उल्लेख्य रहेकाले दुवै तर्फको दरखास्त संख्या मिलान गरिने भएको छ । संखुवासभा, उदयपुर र पाँचथरमा मात्रै शसस्त्र प्रहरीले मागेको संख्या भन्दा बढी आवेदन छ । बाँकी अरु जिल्लामा भने सशस्त्र प्रहरीमा आवेदन दिनेको संख्या न्यून पाइएको छ । धनकुटाको छारागाउँस्थित शसस्त्र प्रहरीको छिन्ताङ गुल्मका डिएसपी प्रेमप्रकाश सिग्देलले निर्वाचन सुरक्षा प्रहरीका लागि आवेदन दिनेको संख्या एकदमै कम रहेको जनाए।
धनकुटामा सशस्त्रले मागेको ९६ जना मध्ये ६८ जनाले मात्रै आवेदन दिएका छन् । निर्वाचन सुरक्षा प्रहरीका लागि निर्धारित संख्यामा आवेदन नै अपुग भएपछि दरखास्तको समय दुई दिन थप गरिएको धनकुटाका प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।
तोकिएको संख्या भन्दा कम आवेदन परेका जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको निर्वाचन प्रहरी भर्ना छनौट समितिले म्याद थप गर्न सक्ने व्यवस्था रहेको कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरे जानकारी दिए ।
थपिएको अवधिमा पनि आवेदकको संख्या पर्याप्त नभए झापा, मोरङ र सुनसरी लगायतका बढी आवेदन परेका जिल्लाबाट जनशक्ति व्यवस्थापन गरिने उनले बताए। ‘संख्या बढी भएका जिल्लाबाट वैकल्पिकमा परेकालाई अपुग भएका ठाउँमा व्यवस्थापन गर्छौं,’ घिमिरेले भने ।
माघ १ गते उमेद्वारको दर्ता आवेदन सकेर ५ गतेदेखि ९ सम्म छनौट र १२ गते अन्तिम नतिजा प्रकाशन गर्ने तयारी थियो । माघ १५ गतेदेखि निर्वाचन सुरक्षा प्रहरीको प्रशिक्षण सुरु गर्ने कार्यतालिका छ ।
सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनमा खटिने निर्वाचन प्रहरीलाई प्रहरी जवानले पाउने सरहको सुविधा दिएर ४० दिन कार्यक्षेत्रमा खटाउने जनाएको छ । निर्वाचन सुरक्षा प्रहरीले प्रतिदिन ८ सय ६९ रुपैयाँ ४० पैसा पाउने जनाइएको छ ।
