धनकुटामा जुधाउन नुवाकोटबाट डेढ लाखको गाेरु

विश्वकर्माले नुवाकोटबाट १ लाख ५० हजार रुपैयाँमा खरिद गरेको गाेरु बिहीबार आयोजित साँढे जुधाइ प्रतियोगितामा सहभागी गराएका छन्।

माघ १, २०८२

विनोद घिमिरे

Cow worth 1.5 lakh from Nuwakot to be slaughtered in Dhankuta

धनकुटा — माघे सक्रान्ति पर्वमा जुधाउन नुवाकोटबाट किनेको गोरु धनकुटा पुर्‍याइको छ। पाख्रीवास-१० खत्री गाउँका दिलकुमार विश्वकर्माले नुवाकोटबाट गोरु धनकुटा पुर्‍याएका हुन्।

विश्वकर्माले नुवाकोटबाट १ लाख ५० हजार रुपैयाँमा खरिद गरेको गाेरु बिहीबार आयोजित साँढे जुधाइ प्रतियोगितामा सहभागी गराएका छन्। विश्वकर्माले जुधाउनकै लागि चुङमाङबाट २ दिनअघि गोरु लिएर मुगा आएको जनाए ।

उनले विगतमा नुवाकोटमा भएका साँढे जुधाइ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको गोरु खरिद गरेर ल्याएको बताए। 

धनकुटाको पाख्रीवास नगरपालिका-७ मुगामा हरेक वर्ष माघे संक्रान्तिमा साँढे जुधाइ प्रतियोगिता आयोजना हुँदै आएको छ। विगत वर्षमा जस्तै माघ १ गते मुगाको गजे गैरीमा साँढे जुधाइ प्रतियोगिता आयोजना गरिएको छ। प्रतिगोगितामा सहभागी गराउन ९ हल गोरु गजे गौरी पुर्‍याइएकाे छ।

साँढे जुधाइ प्रतियोगिताको पहिलो पुरस्कार ३० हजार रुपैयाँ राखिएको छ। आयोजकका अनुसार बलियो जातको गोरु छनोट गरी नुवाकोटबाट धनकुटा ल्याइएको हो।

गोरु जुधाइलाई स्थानीय संस्कृति, पहिचान र पर्यटन प्रवर्द्धनसँग जोडेर हेरिएको आयोजक गोपाल बराइलीले बताए। यो कार्यक्रमले ग्रामीण क्षेत्रमा चहलपहल बढ्नुका साथै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। धनकुटामा हुने गोरु जुधाइ हेर्न छिमेकी जिल्लाबाट समेत दर्शक आएका छन्। 

विनोद घिमिरे घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully