एकीकरण मार्ग पहिल्याउँदै आइतबार सुनसरीको विजयपुरबाट हिँडेको नेपाली सेनाको टोली बुधबार बिहान पाख्रिबास पुगेर कार्यक्रम आयोजना गरी यात्राको समापन गरिएको हो ।
धनकुटा — राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले यहाँ आयोजना गरेको एकीकरण पदयात्रा पूरा भएको छ । आइतबार सुरु बिजयपुरगढी–साँगुरीगढी–पाख्रिबास निशान पदयात्रा पाख्रिबास पुगेर बुधबार बिहान टुंगिएको हो ।
राष्ट्रिय एकताको सन्देश दिने उद्देश्यले सल्लेरीस्थित नेपाली सेनाको भीम दल गणको सैनिक टोलीले चारदिने पदयात्रा आयोजना गरेको थियो ।
एकीकरण मार्ग पहिल्याउँदै आइतबार सुनसरीको विजयपुरबाट हिँडेको नेपाली सेनाको टोली फुस्रे, चिउरीबास, साँगुरीगढी, धारापानी, घण्टे, फेदी, मुलघाट, महाङ बेलहरा, उत्तरपानी हुँदै बुधबार बिहान पाख्रिबास पुगेको थियो । पाख्रिबासमा कार्यक्रम आयोजना गरेर यात्राको समापन गरिएको थियो ।
समापन कार्यक्रममा पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले पदयात्राले इतिहास र राष्ट्रिय एकताको सम्बर्द्धनमा सहयोग पुग्ने बताए । नेपाली सेनाले ऐतिहासिक तथा सांस्कृतिक सम्पदा संरक्षण गर्ने उद्देश्यले पदयात्रा कार्यक्रम सञ्चालन गरेको भीम दल गणका प्रमुख सेनानी गणेश थापाले जानकारी दिए ।
ऐतिहासिक विजयपुरगढी, साँगुरीगढी र पाख्रीबास क्षेत्रको पहिचान, संरक्षण तथा प्रवर्द्धनकासाथै राष्ट्रिय एकता र देशभक्तिको सन्देश फैलाउने उदेश्यले पदयात्रा गरिएको थापाले जनाए । आइतबार बिहान धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङ, सेनाको पूर्वी पृतनाका पृतनापति उपरथी गौरवकुमार केसी, हिलेस्थित २ नम्बर बाहिनी अड्डाका बाहिनीपति दिवाकरविक्रम राणाले सेनाको पैदलयात्रा टोलीलाई बिदाइ गरेका थिए ।
