धनकुटामा गएको ४ दिनमा निर्वाचन प्रहरीका लागि जम्मा ३ सय ८९ जनाले मात्रै आवेदन दिएका छन्।
What you should know
धनकुटा — सरकारले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि पुस २५ गतेबाटै दरखास्त आह्वान गरेको छ।
धनकुटा प्रहरीले सोही दिनबाट निर्वाचन प्रहरीका लागि दरखास्त लिइरहेको छ। धनकुटाका लागि नेपाल प्रहरी तर्फ ९ सय ८९ र शसस्त्र प्रहरीमा ९६ गरी १ हजार ८५ निर्वाचन प्रहरीको कोटा छ।
तर गएका ४ दिनमा जम्मा ३ सय ८९ जनाले मात्रै जिल्ला प्रहरी कार्यालयमा दरखास्त आवेदन दिएका छन्।जसमा ३ सय पुरुष र ९८ जना महिला छन्। यो संख्या अपेक्षा गरिए भन्दा एकदमै कम रहेको धनकुटा प्रहरी प्रमुख एसपी सरतकुमार थापा क्षेत्रीले बताए।
आवेदन दिनेको संख्या नबढ्दा छनौटमै समस्या हुने देखिएको उनले जनाए। भने, ‘जतिसक्दो धेरैबाट छान्न पाउँदा राम्रो जनशक्ति पाउँन सकिन्छ, तर अहिदेसम्मको दरखास्त संख्या हेर्दा अपेक्षाकृत छैन् ।’
उता छारागाउँस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म हेडक्वार्टर छिन्ताङका लागि छुट्याइएको ९६ जनाका लागि सोमबारसम्म जम्मा १२ जनाले दरखास्त दिएको सशस्त्रका डीएसपी प्रेमप्रसाद सिग्देलले जानकारी दिए। आवेदन दिनेको संख्या सन्तोषजनक नरहेको डिएसपी सिग्देलले जनाए।
निर्वाचन प्रहरीका लागि सशस्त्रले छारागाउँमा रहेको गुल्म परिसरबाटै आवेदन लिने व्यवस्था मिलाएको छ। निर्वाचन प्रहरीका लागि माघ १ गते दिनभर आवेदन दिन सकिने एसपी थापाले जनाए। उनले भने ‘दरखास्त दिनेको संख्या जतिसक्दो धेरै होस् भनेर स्थानीय तह मार्फत गाउँ र टोलसम्म सूचना पठाइएको छ, प्रचारप्रसारका लागि स्थानीय सञ्चारमाध्यमलाई पनि आग्रह गरेका छौं, तर संख्या भनेजस्तो आएको छैन् ।’
माघ ५ गते देखि ९ सम्म निर्वाचन प्रहरीको भर्ना छनौट सकेर १२ गते अन्तिम नतिजा प्रकाशन गर्ने तयारी छ । यस्तै माघ १५ गतेदेखि प्रशिक्षण सुरु गर्ने कार्यतालिका रहेको थापाले जनाए।
सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनमा खटिने निर्वाचन प्रहरीलाई प्रहरी जवानले पाउने सरहको सेवा सुविधा दिएर ४० दिन कार्यक्षेत्रमा खटाउने जनाएको छ। निर्वाचन सुरक्षा प्रहरीले प्रतिदिन ८ सय ६९ रुपैयाँ ४० पैसा पाउँछन् ।
