पाख्रिबासमा भएको स्वास्थ्य शिविरमा ६ सय बढी लाभान्वित

विपन्न बिरामीले नगरपालिकाको सिफारिसमा अब बहिरंग सेवामा ५० र अन्य उपचार सेवामा २५ प्रतिशत सहुलियत प्राप्त गर्ने ।

पुस २७, २०८२

विनोद घिमिरे

Over 600 benefit from health camp in Pakhribas

What you should know

धनकुटा — धनकुटाको पाख्रिबासमा भएको निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगका ५ सय जना बिरामीले सेवा लिएका छन् ।

पाख्रिबासस्थित सयपत्री बोर्डिङ स्कुलमा आयोजित शिविरमा मुटु, मिर्गौला, दाँत, हाडजोर्नी, नसा, मधुमेह, बाथ, बाल, नाक–कान, घाँटी, भिडियो एक्सरे, स्त्री तथा प्रसूति, यौन रोगसँग सम्बन्धित विशेषज्ञ सेवा उपलब्ध गराइएको छ । 

दुर्गम र स्वास्थ्य सेवाको पहुँच बाहिरका नागरिकलाई रोग पहिचान र उपचारमा सहयोग गर्न शिविर आयोजना गरिएको पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले बताए । नगरपालिकाको आयोजना र व्यवस्थापनमा विराटनगरस्थित न्युरो कार्डियो मल्टिस्पेसियालिटी हस्पिटलको प्राविधिक सहयोगमा विशेषज्ञ सेवा उपलब्ध गराइएको हो । 

शिविरमा १ सयको मुटुसम्बन्धी जाँच, १ सय २० जनाको भिडियो एक्सरे, ३ सय जनाको मधुमेह परीक्षण, ५० जनाको दाँतको एक्सरे र ३८ जनाले हाडजोर्नीसम्बन्धी सेवा लिएको अस्पताल प्रशासनले जनाएको छ । यसैबीच पाख्रिबास नगरपालिका र विराटनगरस्थित न्युरो कार्डियो मल्टिस्पेसियालिटी हस्पिटलबीच पाख्रिबास नगरपालिकाका नागरिकले उपचारमा विशेष छुट र सहुलियत गराउने समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ ।Over 600 benefit from health camp in Pakhribas

पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ र अस्पतालका तर्फबाट अपरेसनल डाइरेक्टर राजेश भट्टराईले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । अब विराटनगरस्थित न्यूरो कार्डियो मल्टिस्पेसियालिटी हस्पिटलमा उपचार गराउने पाख्रिबास नगरपालिकाका बिरामीले जाँच, औषधि, शय्या र शल्यक्रिया लगायतका सेवामा १५ प्रतिशतसम्म छुट पाउँने अस्पतालका बाह्य पहुँच कार्यक्रम संयोजक भारत श्रेष्ठले जानकारी दिए ।

यस्तै विपन्न बिरामीले नगरपालिकाको सिफारिसमा बहिरंग सेवामा ५० र अन्य उपचार सेवामा २५ प्रतिशत सहुलियत प्राप्त गर्ने श्रेष्ठले जानकारी दिए । अस्पतालसँग भएको समझदारीले विपन्न तथा न्यून आय भएका नागरिकको उपचार सहज हुने विश्वास गरिएको पाख्रिबास नगरपालिकाका प्रमुख गुरुङले जनाए ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully