शहिद धनबीर दर्जीका छोरा सोमबहादुर नेपालीले भन्छन्- हाम्रा बुबा, छिमेकी र गाउँलेको बलिदानबाट प्रजातन्त्र आयो, तर हामीलाई नै राज्यले पहिचानविहीन बनायो।
What you should know
धनकुटा — धनकुटाको शहिदभूमि गाउँपालिका, छिन्ताङका शहिद परिवारले राज्यले नै आफूहरूलाई ‘पहिचानविहीन’ बनाएको गुनासो गरेका छन्।
शनिबार गाउँमा आएका कोशी प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीलाई उनीहरूले राज्यले नै आफूहरूको पहिचानै मासिने गरी व्यवहार गरेको गुनासो गरे।
शनिबार छिन्ताङ पुगेका मन्त्री पराजुलीले पञ्चकन्यामा अवस्थित शहिद पार्कमा पुगेर लस्करै राखिएका शहिदका अर्धकदका शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरेका थिए। त्यसपछि उनले शहिद परिवार, तिनका आफन्त तथा पार्टी कार्यकर्तासँग भेट गरे। भेटका क्रममा शहिद परिवारले मन्त्रीसमक्ष राज्यले नै आफूहरूलाई ‘परिचय र पहिचानविहीन’ बनाएको गुनासो गरे।
छिन्ताङ हत्याकाण्डमा परेका १६ जना शहिदमध्ये एक धनबीर दर्जीका छोरा सोमबहादुर नेपालीले आफ्नो क्षमता र योग्यताअनुसार रोजगारीको व्यवस्था गरिदिन मन्त्रीसँग आग्रह गरे। उनले भने, ‘हाम्रा बुबा, छिमेकी र गाउँलेको बलिदानबाट प्रजातन्त्र आयो, तर हामीलाई नै राज्यले पहिचानविहीन बनायो।’
छिन्ताङ हत्याकाण्डमा मारिएका १६ जनालाई २०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले दुई चरणमा राष्ट्रिय शहिद घोषणा गरेको थियो। राष्ट्रिय शहिद घोषणा गरिए पनि त्यसको आधिकारिक अभिलेख नभएको भन्दै शहिद परिवारले परिचयपत्र उपलब्ध गराइदिन माग गरेका छन्।
शहिद परिवारमाझ मन्त्री पराजुलीले शहिदका आश्रित परिवारलाई आत्मनिर्भर बनाउने विषयमा प्रदेश सरकार सकारात्मक रहेको आश्वासन दिए। प्रजातन्त्र प्राप्तिको आन्दोलनमा छिन्ताङबाट भएको बलिदान नबिर्सन स्थानीयले मन्त्रीलाई सचेतसमेत गराएका थिए।
कान्तिपुरसँगको कुराकानीमा मन्त्री पराजुलीले शहिद परिवारको जीविकोपार्जन, शिक्षा र सामाजिक सुरक्षाका विषयमा आफू प्रतिबद्ध रहेको बताए। उनले भने, ‘शहिदका परिवारलाई जीविकोपार्जनमा सघाउन सकेसम्मको प्रयास गर्छु। छिन्ताङ हत्याकाण्डमा मारिएका परिवारका गुनासो सम्बोधनका लागि प्रदेश र केन्द्र सरकारसँग कुरा गर्छु।’
भोकमरीविरुद्ध आन्दोलनमा उत्रिएका स्थानीयलाई दबाउन तत्कालीन सरकारले २०३६ कात्तिक २२ देखि २९ गतेसम्म तत्कालीन खोकु, छिन्ताङ र आखिसल्ला गाविसमा विशेष प्रहरी कारबाही गरेको थियो। त्यस क्रममा उनीहरूलाई पञ्चायती व्यवस्था विरोधी अभियानमा लागेको आरोप लगाउँदै धरपकड, यातना र हत्या गरिएको थियो। घटनामा दुई महिला र नाबालकसहित छिन्ताङका १३ र आखिसल्लाका तीन जना किसानको ज्यान गएको थियो।
त्यसरी मारिनेमा आखिसल्लाका झगेन्द्र राई, गणेशबहादुर विश्वकर्मा र विद्यार्थी केशरमान राई थिए। यस्तै छिन्ताङका गोपालआनन्द राई, टंकबहादुर विश्वकर्मा, धनबीर दर्जी, लाखमान साधु राई, रणध्वज पुमा राई, गंगाबहादुर तुप्रीहाङ राई, गम्भीरमान दर्जी, चन्द्रबहादुर दर्जी, श्रीमाया राई (हाङखिमासाहिली), रामकुमारी राई, भैरवबहादुर खालिङ राई, बलबहादुर खत्री र पुत्रमान राई मारिएका थिए।
मारिएका सबै १६ जनालाई राष्ट्रिय शहिद घोषणा गरी आश्रित परिवारलाई संघीय सरकारले प्रतिपरिवार १० लाख रुपैयाँ राहत दिने घोषणा गरेको थियो। तर उक्त राहत रकम अहिलेसम्म नपाएको शहिद परिवारको गुनासो छ। संघीय सरकारले राहत रकम उपलब्ध नगराए पनि कोशी प्रदेश सरकारले यसअघि नै शहिद परिवारलाई जनही पाँच लाख रुपैयाँ राहत उपलब्ध गराइसकेको छ।
संघीय सरकारले घोषणा गरेको राहत रकमका लागि पहल गरिदिन आग्रह गरिएको एमाले नेता तथा शहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले जानकारी दिए। शहिद परिवारसँगको भेटघाटपछि मन्त्री पराजुली छिन्ताङ हत्याकाण्डमा मारिएका शहिद धनबीर दर्जीका छोरा सोमबहादुर नेपालीको घर पुगे।
सोमबहादुर नेपालीसँगै टाँसिएर बसेर बिहानको खाना खाएपछि उनी सदरमुकाम फर्किएका थिए। फर्कने क्रममा उनले राजद्रोहको आरोपमा २०३५ सालमा कोशीटप्पु लगेर मृत्युदण्ड दिइएका शहिद भीमनारायण श्रेष्ठको शालिकमा माल्यार्पण गरे। त्यसपछि मन्त्री पराजुली शहिद भीमनारायण श्रेष्ठको घर पुगेर शहिदपत्नी तथा परिवारसँग भेटघाट गरेका थिए।
