मेचीनगरमा भाक्का उत्सव

मेचीनगर–७ इटाभट्टामा राजवंशी समाज विकास समिति मेचीनगरले आयोजना गरेको भाक्का उत्सवमा पाँच सय किलो चालमको पिठोको भाक्का बनाइएको हो ।

पुस २७, २०८२

रासस

Bhakka festival in Mechinagar

झापा — मेचीनगरमा पहिलो पटक राजवंशी समुदायले आइतबार प्रथम भाक्का पिठ्ठा उत्सव मनाएका छन् ।

मेचीनगर–७ इटाभट्टामा राजवंशी समाज विकास समिति मेचीनगरले आयोजना गरेको भाक्का उत्सवमा पाँच सय किलो चालमको पिठोको भाक्का बनाइएको हो।

रैथाने परम्परागत खाद्य परिकारका रूपमा रहेको भाक्कालाई प्रवर्द्धन र सम्बर्द्धन गर्ने उद्देश्यले भाक्का उत्सव मनाइएको समितिका नगर अध्यक्ष दिनेश राजवंशीले बताए।

भाषा, कला, संस्कार, संस्कृतिको पहिचानसहित आयोजना गरिएको भाक्का उत्सवले पर्यटन प्रवर्द्धनमासमेत सहयोग पुग्ने कार्यक्रमका प्रमुख अतिथि गोपालचन्द बुढाथोकीले बताए। उनले २५ भन्दा बढी जातजाति रहेको नगरमा राजवंशी समुदायको उलेख्य बसोबास रहेको जानकारी दिए।

नगरका १५ वटै वटाबाट ३० जना जातीय पोसाक र गरगहनामा सजिएका राजवंशी समुदायका महिलाले भाक्काका परिवारका बनाएका छन्।

पूर्वी तराईको झापा र मोरङका आदिवासी राजवंशी समुदायको भाक्का खाने पुरानो चलन हो। धानको पीठोबाट बनाइएको भाक्का पोसिलो, स्वादिलो हुने हुँदा पूर्वी तराईमा यो लोकप्रिय बनिरहेको छ । 

जिल्लाका काँकडभिट्टा, इँटाभट्ट, बिर्तामोड, भद्रपुर, दमकलगायत सहरी क्षेत्र र ग्रामीण क्षेत्रका चोक तथा बजारमा भाक्का बनाएर राजवंशीलगायत अन्य समुदायले बिक्री गर्दै आएका छन्।

पानीको बाफमा पकाइने र कुनै किसिमको मिसावट नहुने हुँदा भाक्का खानु स्वास्थ्यका लागि अति उत्तम हुने मेचीनगर नगरपालिका–७ वडाध्यक्ष प्रल्लाद ओलीले बताए। उनका अनुसार जिल्लाभरका राजवंशी समुदायले पुस २९ गतेलाई भाक्का दिवसका रूपमा नौ वर्षदेखि मनाउँदै आएका छन् ।

रासस

Link copied successfully