निर्माण व्यवसायीमाथि आक्रमण गर्ने युवा माफी मागेर छुटे

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रका अनुसार आइन्दा त्यस्तो गल्ती नगर्ने सर्तमा माफी मागेर उनीहरू छुटेका हुन् ।

पुस २४, २०८२

डम्बरसिं राई

Youth who attacked construction worker released after apologizing

खोटाङ — निर्माण व्यवसायीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका दुई युवा छुटेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका निर्माण व्यवसायी फडिन्द्र आचार्यलाई दिक्तेलस्थित सगरमाथा होटलमा बुधबार आक्रमण गरेको आरोपमा पक्राउ परेका बाम्राङका युवक राई र निर्मलीडाँडाका धनजीत राई बिहीबार छुटेका हुन् ।

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रका अनुसार आइन्दा त्यस्तो गल्ती नगर्ने सर्तमा माफी मागेर उनीहरू छुटेका हुन् । 

यो घटनापछि होटल तथा पर्यटन व्यवसायी संघ खोटाङले सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारी र प्रहरीसमक्ष निवेदन दिएको छ । होटलमै आक्रमण गरी असुरक्षा हुने भयले प्रमुख जिल्ला अधिकारी रेखा कँडेल र प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीलाई सुरक्षाको माग गर्दै ध्यानाकर्षण गराएको सगरमाथा होटलका सञ्चालक योगराज लुईंटेलले बताए । 

‘होटल–होटलमा खुकुरीसहित आक्रमण गर्नेलाई कानुनी कारबाही नगरी छाडिएको छ, तसर्थ असुरक्षित भएको महसुस गरी ध्यानाकर्षण गराएका हौं,’ लुईंटेलले भने ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully