रोशनी मेचे अल्पसंख्यक मेचे समुदायको प्रतिनिधित्व गर्ने सशक्त अनुहारका रूपमा परिचित छिन् । वडा कमिटीदेखि प्रदेश कमिटीसम्मका विभिन्न तहमा काम गरेका सोम पोर्तेल एमालेभित्र ‘कार्यकर्ता–मुखी नेता’ का रूपमा चिनिन्छन् ।
विराटनगर — नेकपा (एमाले) ले राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट दुई समावेशी र नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । दलित समुदायबाट सोम पोर्तेल र महिला तथा अल्पसंख्यकबाट रोशनी मेचेलाई एमालेले उम्मेदवार बनाएको हो ।
फरक सामाजिक पृष्ठभूमिबाट आएका दुवै उम्मेदवारले राज्यको माथिल्लो सदनलाई प्रभावकारी नीति निर्माणको थलो बनाउने साझा दृष्टिकोण बोकेका छन् ।
पूर्वी पहाड पाँचथरमा २०३५ साल फागुनमा जन्मिएका पोर्तेलको राजनीतिक यात्रा जनआधारित संघर्ष र संगठन निर्माणको अभ्याससँग जोडिएको छ । हाल झापाको हल्दिवारीलाई स्थायी बास बनाएका पोर्तेल २०४७ सालपछि खुलेको राजनीतिक परिवेशमा विद्यार्थी संगठन अनेरास्ववियु हुँदै सक्रिय राजनीतिमा होमिएका थिए ।
वडा कमिटीदेखि प्रदेश कमिटीसम्मका विभिन्न तहमा काम गरेका पोर्तेल संगठनभित्र ‘कार्यकर्ता–मुखी नेता’ का रूपमा चिनिन्छन् । दलित समुदायको राजनीतिक सहभागिता विस्तारमा क्रियाशील रहँदै उनी हाल एमालेको भ्रातृ संगठन मुक्ति समाज नेपालका केन्द्रीय उप–महासचिव छन् ।
पोर्तेलको पहिचान भने झापा जिल्ला समन्वय समितिको प्रमुखका रूपमा बिताएको पाँचवर्षे कार्यकालसँग जोडिन्छ । २०७४ देखि २०७९ सम्म स्थानीय सरकारबीच समन्वय, विकास योजना कार्यान्वयन र संघ–प्रदेश–स्थानीय तहको सम्बन्ध सुदृढ बनाउन आफूले उल्लेखनीय भूमिका निर्वाह गरेको उनी बताउँछन् ।
यसअघि २०६५ सालमै दलित वर्ग उत्थान जिल्ला समन्वय समितिको उपाध्यक्ष भएर उनले सामाजिक न्यायका सवालमा काम गरिसकेका छन् । ‘यो ‘रिटायर्ड’ नेताहरूको थलो मात्रै होइन,’ राष्ट्रिय सभाबारे पोर्तेलको दृष्टिकोण स्पष्ट छ, ‘अब अनुभव र युवा जोस मिसिएको प्रभावकारी नीति निर्माण गर्ने थलो राष्ट्रिय सभा हुनुपर्छ ।’
झापाकी युवा नेतृ रोशनी मेचे एमालेले महिला कोटाबाट उठाएकी अर्की महत्त्वपूर्ण उम्मेदवार हुन् । २०३८ भदौ ८ मा जन्मिएकी रोशनी मेचीनगर–१२ की स्थायी बासिन्दा हुन् । उनी अल्पसंख्यक मेचे समुदायको प्रतिनिधित्व गर्ने सशक्त अनुहारका रूपमा परिचित छिन् ।
विगत १०–१२ वर्षदेखि सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय मेचेले पार्टी राजनीतिसँगै नीति–कार्यान्वयनको तहलाई नजिकबाट अनुभव बटुलेकी छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेर काम गर्दा उनले संघीय सरकारको निर्णय प्रक्रिया र प्रशासनिक संयन्त्रलाई नजिकबाट बुझ्ने अवसर पाएको बताइन् ।
गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन र प्रदर्शनपछि ओली पदमुक्त भएसँगै उनी केही समय पार्टी गतिविधिमा सीमित देखिइन्, तर राजनीतिक यात्राबाट टाढा रहिनन् । हाल उनी एमालेको भ्रातृ संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्य छिन् ।
राष्ट्रिय सभा सबै जातजाति र समुदायको साझा थलो हुनुपर्ने उनको तर्क छ । ‘अल्पसंख्यक र लोपोन्मुख समुदायको आवाज राज्यको माथिल्लो सदनसम्म पुर्याउनु मेरो पहिलो प्राथमिकता हुन्छ,’ रोशनी भन्छिन् ।
