रक्त संचार केन्द्र स्थापनाका लागि ८ लाख रुपैयाँ संकलन

संकलित रकम माछापुच्छ्रे बैंकमा रहेको नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखाको खातामा जम्मा भइसकेको गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतले जानकारी दिए ।

पुस २३, २०८२

विनोद घिमिरे

Rs. 8 lakh collected for establishment of blood transfusion center

What you should know

धनकुटा — जिल्ला अस्पताल धनकुटामा स्थापना गर्न लागिएको रक्त संचार केन्द्रका लागि ८ लाख २१ हजार रुपैयाँ संकलन भएको छ ।

१ सय १२ वर्ष पुरानो जिल्ला अस्पतालमा रक्त संचार केन्द्र स्थापनाका लागि नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखाको अगुवाइमा जिल्ला अस्पताल, गैरआवासीय नेपाली संघ, स्थानीय तह, पत्रकार महासंघ लगायतका सामाजिक संघसंस्थाले सार्वजनिक आहृान गरेर दाता खोजिरहेका  हुन् । 

रक्तसंचार केन्द्र स्थापनाकालागि गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतको समन्वयमा विदेश तथा स्वदेशमा रहेका दाताहरूले सहयोग रकम संकलन गरी पठाएका हुन् । रक्त संचार केन्द्र स्थापनाका लागि एनआरएनए राष्ट्रिय समन्वय परिषद् जापानले २ लाख रुपैयाँ संस्थागत सहयोग गरेको छ ।

यसै गरी, किर्गिस्तानमा रहेका एनसीसीका पूर्व अध्यक्ष डा. किसान भण्डारीले २ लाख, एनआरएनए राष्ट्रिय समन्वय परिषद् क्यानडाले १ लाख १० हजार, एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद् आईसीसी जापानका उपाध्यक्ष रोविनप्रसाद शेरचनले १ लाख, एनआरएनए एनसीसी चीनले ७१ हजार, गैरआवासिय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतले ५५ हजार, एनआरएनए उपक्षेत्रीय संयोजक (एसिया प्रशान्त क्षेत्र) दीपक कँडेलले ५०, एनआरएनए राष्ट्रिय समन्वय परिषद् कंगोबाट २५ तथा नुवाकोटका व्यवसायी अशोकराज पाण्डेबाट १० हजार गरी ८ लाख २१ हजार रुपैयाँ संकलन भएको पत्रकार महासंघ धनकुटाका अध्यक्ष बिदुर खबासले जानकारी दिए । 

संकलित रकम माछापुच्छ्रे बैंकमा रहेको नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखाको खातामा जम्मा भइसकेको गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतले जानकारी दिए ।

विसं १९७० मा तत्कालीन त्रिचन्द्र अस्पताका नाममा स्थापना भएको धनकुटा जिल्ला अस्पतालमा अहिलेसम्म रक्त संचार केन्द्र छैन । धनकुटा अस्पतालमा रगत आवश्यक पर्दा बिरामीका आफन्तले व्यक्तिगत रूपमा दाता खोज्नुपर्ने बाध्यता छ ।

विनोद घिमिरे घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully