पार्टी केन्द्रीय कमिटीले आफूलाई उम्मेदवार बनाउने निर्णय ढिलो जानकारी गराएकै कारण समय सीमाभित्र मनोनयन दर्ता गर्न नसकिएको घिमिरेले बताए।
What you should know
संखुवासभा — नेकपाका तर्फबाट राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्न विराटनगर हिँडेका संखुवासभाका कम्युनिस्ट नेता हेमराज घिमिरे समयमै निर्वाचन आयोग नपुग्दा उम्मेदवार बन्न पाएनन् ।
निर्वाचन आयोगले तोकेको समयसीमाभित्र नेकपाका उम्मेदवार विराटनगर नपुगेपछि नेपाली कांग्रेसका सुनिलबहादुर थापा कोशी प्रदेशबाट खुला क्लस्टरमा निर्विरोध निर्वाचित भएका छन्। नेकपाले घिमिरेलाई सोही क्लस्टरबाट उम्मेदवार बनाउने निर्णय गरेको थियो।
पार्टी केन्द्रीय कमिटीले आफूलाई उम्मेदवार बनाउने निर्णय ढिलो जानकारी गराएकै कारण समय सीमाभित्र मनोनयन दर्ता गर्न नसकिएको घिमिरेले बताए। 'सूचना समयमै आएको भए म निर्वाचन आयोग पुग्थेँ,' उनले भने, 'ढिलो गरी सूचना पाउँदा उम्मेदवारी दर्ता गर्नै पाइनँ ।'
घिमिरे बुधबार दिउँसो साढे १ बजे संखुवासभाको सदरमुकाम खाँदबारीबाट मोटरसाइकलमा विराटनगरतर्फ लागेका थिए । खाँदबारी–विराटनगर यात्रा गर्न कम्तीमा पाँच घण्टा लाग्ने हुँदा समयमै आयोग पुग्न सम्भव भएन। '१२ बजे नै हिँड्नुपर्छ भन्ने कुरा आएको थियो। पत्र नआएसम्म नहिँडूँ कि भनेर कुर्दा साढे १ बजिसक्यो,' उनले भने, 'साढे १ बजे हिँडेर विराटनगर समयमै पुगिँएन।'
आफू उम्मेदवार बनेको जानकारी बुधबार मात्रै पाएको घिमिरेले बताए। तत्कालीन समाजवादी कोशी प्रदेशकी अध्यक्ष सरिता खड्काले जानकारी गराएपछि हतारिँदै खाँदबारीबाट हिँडे पनि ढिला भइसकेको उनको भनाइ छ।
हेमराज घिमिरे संखुवासभाका अनुभवी र पुराना कम्युनिस्ट नेता हुन्। उनी नेकपा एमाले संखुवासभाका अध्यक्ष मात्र नभई जिल्ला विकास समिति संखुवासभाको उपसभापति समेत रहिसकेका छन्।
एमाले विभाजनपछि उनी माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा सक्रिय भए। पछि समाजवादी, नेकपा माओवादी केन्द्रलगायत वामपन्थी दल एकताबद्ध भएर बनेको नेपाली कम्युनिस्ट पार्टीमा उनी केन्द्रीय सदस्य बनेका थिए।
