प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, सितोरियो कराँते, तेक्वान्दो र उसु गरी ६ विधाका लागि प्रतिस्पर्धा गराइने छ।
ताप्लेजुङ — १६ औं राष्ट्रपति रनिङ शिल्ड जिल्लास्तरीय प्रतियोगिता आगामी माघ २३ देखि २६ गतेसम्म हुने भएको छ।
जिल्ला खेलकुद विकास समितिका अनुसार प्रतियोगिता सिदिङ्वा गाउँपालिकाको केन्द्र रहेको वडा ४ साव्लाखुभन्ज्याङमा हुने भएको हो।
गाउँपालिकाको संयोजन तथा जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुने समिति अध्यक्ष नरेन्द्रकुमार लिम्बू (गणेश) ले जानकारी दिए ।
प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, सितोरियो कराँते, तेक्वान्दो र उसु गरी ६ विधाका लागि प्रतिस्पर्धा गराइने छ। सबै खेल छात्रछात्रा दुवैका लागि हुनेछ।
यी विधा अन्तर्गत ६६ स्वर्ण, ६६ रजत र ७० कास्य गरी कुल २०२ पदकका लागि छात्र छात्राले प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख यज्ञनिधि पौडेलले जानकारी दिए। प्रतियोगितामा जिल्लाका नौ वटा स्थानीय तहका माध्यमिक विद्यालयले सहभागिता जनाउने छन्।
जिल्लास्तरीय प्रतियोगितालाई व्यवस्थित रुपमा सम्पन्न गर्न पालिकाले आवश्यक तयारी गरिरहेको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए। प्रतियोगिताको टुङ्गो लागेदेखिनै खेलमैदान निर्माणलाई पूर्णता दिने लगायतका कार्यमा गाउँपालिका लागेको उनले बताए।
साब्लाखुस्थित टावरडाँडामा खेलमैदानमा निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष बन्दना कडरिया बताउँछिन्। गत वर्ष मैवाखोला गाउँपालिकामा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिएको थियो। पछिल्ला वर्ष गाउँपालिकाहरुले आलोपालो गरेर प्रतियोगिता सञ्चालन गर्दै आएका छन् ।
