समन्वय प्रमुख-उपप्रमुखबिनै सामुदायिक भवन शिलान्यास गरेपछि विवाद

जिल्ला समन्वय प्रमुख लामाले आपत्ति जनाउँदै आफ्नो फेसबुकमा लेखेका छन्, ‘जिल्ला समन्वय प्रमुख उपप्रमुख मुग्लान भास्या थियो र सामुदायिक भवन सिलान्यास गर्या होे ? जानकारी समेत नगरी के को हतार भयो ? यो गम्भीर विषय छ, जवाफ चाहिन्छ ।’

पुस २२, २०८२

आनन्द गौतम

Controversy after laying foundation stone of community building without coordination chief and deputy chief

What you should know

ताप्लेजुङ — जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको फुङलिङ नगरपालिकाको सामुदायिक भवन पुनर्निर्माण शिलान्यासको विषय विवादित बनेको छ।

फुङलिङ नगरपालिका प्रमुख अमिर मादेन, प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँ र जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख विष्णु तिवारीले भवन पुनर्निर्माणको सिलान्यास गरेपछि समन्वय समिति प्रमुख छिरिङ लामाले आपत्ति जनाएका छन्।

उनीहरुले सिलान्यास गरेको तस्बिर सार्वजनिक भएपछि जिल्ला समन्वय प्रमुख लामाले आपत्ति जनाउँदै आफ्नो फेसबुक पेजमा प्रश्न गर्दै लेखेका छन्, ‘जिल्ला समन्वय प्रमुख उपप्रमुख मुग्लान भास्या थियो र सामुदायिक भवन सिलान्यास गर्या होे ? जानकारी समेत नगरी के को हतार भयो ? यो गम्भीर विषय छ, जवाफ चाहिन्छ ।’

सघन सहरी विकास तथा भवन निर्माण कार्यालयले चालु आर्थिक वर्षमा पहिलो तलासम्म निर्माण गर्नेगरी भवनको काम अगाडि बढाएको छ। अहिलेसम्म पुराना सबै स‌ंरचना भत्काएर काठ तथा ढुंगालगायतका सामान व्यवस्थित गर्ने र २१ मिटर चौडाई र ४१ मिटर लम्बाइको मैदान सम्याउने काम सकिएको छ।

कार्यालयले ५ करोडको ठेक्का आह्वान गरे पनि केबी जिएनएस भक्तपुरलले ३ करोड २५ लाख १८ हजार रुपैयाँमा भवन निर्माणको ठेक्का सम्झौता गरेको छ। २०८३ असार १८ गतेसम्ममा काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ।

तत्कालीन नेकपा एसबाट समन्वय प्रमुख भएका लामा जेनजी आन्दोलनपछि एमाले प्रवेश गरेका छन्। उनले सिलान्यासको  विषयमा आपत्ति जनाएपछि एमाले कार्यकर्ताले उनको पक्षमा सामाजिक सञ्जालमा वकालन गरेका छन्।

समन्वय समितिमा कार्यवाहक प्रमुख तिवारी र नगरपालिका प्रमुख मादेन भने कांग्रेसका हुन्। सिलान्याससँगै नयाँ संरचना निर्माण सुरु भएको तिवारीको दाबी छ। आफु कार्यवाहक भएकाले आफ्नै उपस्थितिमा गराएको उनले बताए। सदरमुकाममा सार्वजनिक कार्यक्रम सञ्चालन गर्ने एकमात्र भवन भएकाले यसलाई चाँडै सम्पन्न गर्न फटाफट काम बढाउन आफुहरुले सिलान्यास गरेको उनको दाबी छ । 

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully