प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले झापा २ बाट सभामुख देवराज घिमिरे र पूर्वकानुन मन्त्री अग्नी खरेलसहित ९ जनाको नाम सिफारिस गरेको छ।
What you should know
झापा — प्रतिनिधिसभा निर्वाचनका लागि झापाका ५ वटा निर्वाचन क्षेत्रमध्ये झापा ५ पछि सबैको चासो रहेको निर्वाचन क्षेत्र हो– झापा २।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्वयम् चुनावमा उठ्ने भएकाले झापा ५ लाई विशेष चासोका साथ हेरिन्छ भने प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको गृहक्षेत्र झापा २ ले पनि धेरैकाे ध्यान तान्ने गरेको छ।
यस्तै, झापा २ बाट चुनाव लड्ने आकांक्षीमध्ये सभामुख घिमिरेसँगै एमालेका अर्का प्रभावशाली नेता हुन् अग्नी खरेल। कानुनमन्त्री, महान्यायाधिवक्ता हुँदै ओली प्रधानमन्त्री भएका बेला प्रधानमन्त्रीको विज्ञ सल्लाहकार रहेका खरेल एमालेमा प्रभावशाली नेता मानिन्छन् ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले झापा २ बाट सभामुख घिमिरे र पूर्वकानुन मन्त्री खरेलसहित ९ जनाको नाम सिफारिस गरेको छ। झापा २ यी दुवै नेताको गृहक्षेत्र हो।
२०७९ को निर्वाचनताका पनि यहाँ अहिलेकै जस्तै चासो थियो– झापा २ मा घिमिरे कि खरेल ? त्यसबेला टिकटका लागि दुवै जनाले राम्रै कसरत गरेका थिए। अन्ततः घिमिरेले झापा २ बाट टिकट पाए भने खरेलले आफ्नो ठाउँ छोडेर झापा १ बाट चुनावी प्रतिस्पर्धा गर्नुपरेको थियो।
घिमिरेलाई ठाउँ छाडेर झापा १ बाट उम्मेद्वार बनेका खरेल कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासँग पराजित भए भने झापा २ बाट चुनाव जितेर संसद प्रवेश गरेका घिमिरे प्रतिनिधिसभाको सभामुख बने।
उमेद्वारमा सिफारिस भएसँगै अघिल्लो निर्वाचनमा जस्तै यसपटक पनि दुवै जनाबीच टिकटको प्रतिस्पर्धा चलिरहेको एमालेका एक नेताले बताए।
एमालेले आइतबार झापा २ बाट घिमिरे र खरेलसहित ९ जनाको नाम सिफारिस गरेको हो। सिफारिस भएकाहरुमा घिमिरे र खरेलसँगै अमृतलाल राजवंशी, उमानाथ ओली, ज्ञानेन्द्रप्रसाद ओली, एकराज कार्की, प्रेम गिरी, पवित्रा पाठक र पर्वतराज भण्डारीको नाम छ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उमेद्वार स्वागत नेपाललाई २ हजार बढी मतले हराएका घिमिरे यसपटक पनि झापा २ बाटै उम्मेद्वारी दोहोर्याउन चाहन्छन्।
सोही निर्वाचनमा झापा १ बाट कांग्रेस महामन्त्री शर्मासँग १४ हजार बढी मतले पराजित भएका खरेल यसपटक जसरी भए पनि झापा २ को टिकट आफ्नो पकडमा ल्याउन चाहान्छन्। झापा २ बाहेक अर्को क्षेत्रबाट निर्वाचनमा सहभागी नहुने खरेलले बताए।
उता सभामुख घिमिरेले पनि यसअघिदेखि नै झापा २ मा उम्मेद्वारी दोहोर्याउने तयारी गरिरहेका छन्। ‘उहाँ झापा २ बाट नै उठ्नुहुन्छ,’ घिमिरे निकट एक स्थानीय नेता भन्छन्।
त्यसो त झापा २ बाट सिफारिसमा घिमिरे र खरेलबाहेक अन्य पनि छन् । कोशी प्रदेशको खानेपानी, सिँचाई तथा उर्जामन्त्री एकराज कार्कीको नाम पनि झापा २ बाट नै सिफारिस भएको छ भने एमाले जिल्ला अध्यक्ष प्रेम गिरि पनि उमेद्वारका लागि सिफारिस भएका छन्। यसैगरी अमृतलाल राजवंशी, उमानाथ ओली, ज्ञानेन्द्रप्रसाद ओली, पवित्रा पाठक र पर्वतराज भण्डारीको नाम पनि सिफारिस भएको छ।
