मोरङ एमालेलाई उम्मेदवार छान्न सकस : एकल नाममा सहमति नजुट्दा छनोटको जिम्मा केन्द्रलाई

सबैभन्दा बढी आकांक्षी मोरङ–३ मा देखिएका छन्। यहाँबाट पूर्व सांसद भानुभक्त ढकालसहित १६ जनाको नाम सिफारिस गरिएको छ।

पुस २०, २०८२

पर्वत पोर्तेल

Morang UML struggles to select candidate: Center to take responsibility for selection as consensus on single name not reached

What you should know

विराटनगर — आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा एमालेलाई मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गर्न आन्तरिक प्रतिस्पर्धाका कारण जटिल बनेको छ। क्षेत्रीय कमिटीहरूले प्रत्यक्षतर्फ एकल उम्मेदवार सिफारिस गर्न नसक्दा अन्तिम निर्णयको भार जिल्ला, प्रदेश हुँदै केन्द्रीय नेतृत्वको काँधमा पुगेको हो।

६ वटै क्षेत्रबाट गरी जम्मा ४३ जनाको नाम सिफारिस भए पनि कुनै पनि क्षेत्रमा सहमति बन्न नसक्नु पार्टीभित्र आकांक्षीको चाप र शक्ति सन्तुलनको संकेतका रूपमा हेरिएको छ। कतिपय क्षेत्रमा एकै जनाको नाम तीन क्षेत्रमा सिफारिस गरिएको छ भने कतै १६ जनासम्म आकांक्षी समेटिएका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओली इतर समूहका प्रभावशाली नेता विनोद ढकाल निर्वाचन क्षेत्र १, ४ र ६ बाट सिफारिस भएका छन् । यद्यपि, गत निर्वाचनमा मोरङका ६ मध्ये एक मात्र क्षेत्रमा एमालेले जित हासिल गरेको पृष्ठभूमिमा यसपटक सुरक्षित उम्मेदवार खोज्ने दबाब झनै बढेको देखिन्छ।

विशेषगरी मोरङ–२ मा अघिल्लो निर्वाचनमा विजयी भए पनि यसपटक क्षेत्रीय कमिटीले एकल नाम तय गर्न नसक्नुले आन्तरिक समीकरण अझै स्पष्ट नबनेको संकेत गर्छ। 

मोरङ क्षेत्र नं. १ बाट कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, विनोद ढकाल, शान्ति लिम्बु, योगेश बस्नेत, डिल्लीराम अधिकारी र भूपाल जिमीको नाम सिफारिस गरिएको छ। १५ जनाले आकांक्षी देखिए पनि क्षेत्रीय कमिटीले ६ जनाको नाम मात्रै अघि सारेको हो।

गत निर्वाचनमा एकमात्र विजय हासिल भएको मोरङ–२ मा समेत एकल उम्मेदवार तय हुन सकेन। यहाँबाट निवर्तमान सांसद ऋषिकेश पोखरेल, रंगेली नगर प्रमुख दिलीप अग्रवाल र पूर्व राष्ट्रियसभा सदस्य नैनकला ओझा सिफारिस भएका छन्।

सबैभन्दा बढी आकांक्षी मोरङ–३ मा देखिएका छन्। यहाँबाट वासुदेव थापा, विजय डाँगी, सुजय गौतम, प्रकाश राई, किशोर राई, प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी, सुन्दरहरैचा नगर प्रमुख केदारप्रसाद गुरागाईं, इरान राई, सुरेन्द्रबहादुर थापा, मधु गुरुङ, धनमाया तामाङ, वीरेन्द्र श्रेष्ठ, मोहनप्रसाद न्यौपाने, रविन थापा र पूर्व सांसद भानुभक्त ढकाल गरी १६ जनाको नाम सिफारिस गरिएको छ।

मोरङ–४ बाट केन्द्रीय सदस्य जीवन घिमिरे, विनोद ढकाल, नरेन्द्र बस्नेत, बाबुराम कार्की, महेश भट्टराई, मुकेश बुढाथोकी, मनोजविक्रम शाह, मृत्युञ्जय झा र मीना चौधरी सिफारिस भएका छन्।

मोरङ–५ बाट उद्धव पोखरेल, वीरेन्द्र यादव, मीना यादव, मझार आलम, दिलसाद आलम र मनोज तिवारीको नाम अघि सारिएको छ। मोरङ ६ मा पूर्व सांसदसहित ६ जनाको नाम सिफारिस भएको छ । मोरङ–६ बाट पूर्व सांसद लालबाबु पण्डित, पर्शुराम बस्नेत, सत्यनारायण चौधरी, भूराज राई, यशोदा अधिकारी र रिता न्यौपाने सिफारिस भएका छन्।

क्षेत्रगत रूपमा हेर्दा पूर्व सांसद, वर्तमान सांसद, प्रदेश सांसद, नगर प्रमुखदेखि केन्द्रीय सदस्यसम्म एउटै क्षेत्रमा प्रतिस्पर्धामा उत्रिनुले पार्टीभित्र नेतृत्व पुस्तान्तरण र अनुभवको बहसलाई समेत सतहमा ल्याएको छ।

क्षेत्रीय कमिटीले सिफारिस गरेका नामहरू अब जिल्ला कमिटी हुँदै प्रदेश र अन्ततः केन्द्रीय कमिटीमा पुग्नेछन्। अन्तिम निर्णय केन्द्रीय नेतृत्वले गर्ने भएकाले मोरङका उम्मेदवार छनोट अब संगठनात्मक भन्दा पनि राजनीतिक सन्तुलन र जित्ने सम्भावनाको आधारमा हुने अनुमान गरिएको छ।

आन्तरिक प्रतिस्पर्धा व्यवस्थापन गर्दै चुनावी एकता कायम राख्नु पार्टीका लागि मोरङमा सबैभन्दा ठूलो चुनौती बनेको एमाले कोशी प्रदेशका एक नेताले जनाए।

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully