अन्न, नगदेबाली र व्यवसायिक तरकारी खेतीमा प्रविधिको प्रयोग गरी उत्पादन बृद्धि गर्न सफल ७ जना किसानलाई नगद र कदरपत्रबाट सम्मानित गरिएको हो।
धनकुटा — धनकुटाका उत्कृष्ठ ७ जना किसानलाई पुरस्कृत गरिएको छ।
अन्न, नगदेबाली र व्यवसायिक तरकारी खेतीमा प्रविधिको प्रयोग गरी उत्पादन बृद्धि गर्न सफल ७ जना किसानलाई नगद र कदरपत्रबाट सम्मानित गरिएको हो।
पुरस्कृत हुनेमा एकै खलामा १ सय ७७ मुरी धान उत्पादन गर्ने चौबिसे ५ स्थित सदामटारका यम लिम्बु, तरकारी उत्पादक छथरजोरपाटीकी डेगमाया लिम्बु र पाख्रिबासका अलैंची उत्पादक हरिभक्त राई छन्।
यम लिम्बुले १ सय ७७ मुरी धान उत्पादन, डेगमाया लिम्बुले टनेल प्रविधिमा व्यवसायिक तरकारी खेती र हरिभक्त राईले ८० रोपनीमा अलैंची खेती गरिरहेको कृषि ज्ञान केन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्र रानाले जानकारी दिए।
कृषि ज्ञान केन्द्र धनकुटाको मूल्यांकनमा क्रमश: पहिलो, दोस्रो र तेस्रोस्थान हासिल गरेका उनीहरुलार्ई जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ र कृषि ज्ञान केन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्र रानाले पाँच, चार र तीन हजार रुपैयाँ नगद र कदरपत्रले सम्मानित गरे।
यस्तै आँप, गोलभेंडा र सुन्तला तथा कागती खेती गर्ने किसानलाई पनि पुरस्कृत गरिएको छ। ज्ञान केन्द्रले वितरण गरेको पुरस्कार राशी थाेरै भएको किसानको गुनासो छ । उनीहरुले केन्द्रले दिएको पुरस्कारले सदरमुकाम आउन जान यातायात खर्च समेत नपुग्ने भन्दै गुनासो गरे।
कृषि ज्ञान केन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्र रानाले मन्त्रालयले नै पुरस्कारको राशी कटौती गरेको जनाए । उनले पुरस्कारलाई प्रोत्साहनका रुपमा लिन आग्रह गरे ।
