को हो सनातन सुरक्षा सेना ? किन राख्यो शंकास्पद बस्तु ?

सुरक्षा विश्लेषकहरूका अनुसार घटनामा प्रयोग गरिएका उपकरण वास्तविक विस्फोट गराउनेभन्दा ‘विस्फोट हुन सक्छ’ भन्ने डर सिर्जना गर्न केन्द्रित देखिन्छन् ।

पुस १९, २०८२

पर्वत पोर्तेल

Who is the Sanatan Suraksha Sena? Why did they keep suspicious objects?

विराटनगर — पुसको चिसो ठिही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको भीडभाड हुने खण्डमा शनिबार बिहानै एउटा कालो झोला भेटियो । कनकाई–माईखोला पुलछेउ राखिएको त्यो झोलाले केही बेरमै सर्वसाधारणलाई आतंकित बनायो भने सुरक्षा निकायलाई चनाखो । राजमार्गमा सवारी आवागमन रोकियो, मानिसहरू कौतूहल र डरले टोलाउन थाले ।

सूचना पाएलगत्तै पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त झोलालाई सुरक्षित रूपमा निष्क्रिय बनायो । झोलाभित्र थियो, प्रेसर कुकर, तार र एउटा पर्चा । पर्चामा लेखिएको थियो, ‘सनातन सुरक्षा सेना नेपाल’ ।

राजमार्गजस्तो संवेदनशील स्थानमा सर्वसाधारणलाई आतंकित पार्ने गरी प्रचार सामग्री र विस्फोटक जस्तै देखिने बस्तु राख्ने उपक्रम भने नयाँ होइन । 

ठीक एक वर्षअघि २०८१ पुस १६ गते सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालयअगाडि पनि प्रेसर कुकर बम जस्तै देखिने शंकास्पद बस्तु भेटिएको थियो । त्यतिबेला पनि ‘राजावादी समूह’ को नाममा प्रहरीलाई सूचना दिइएको थियो ।

उपमहानगरपालिका कार्यालयसँगै राजमार्गका पुल र सर्वसाधारणको भीड हुने बजार क्षेत्रमा समेत बम राखिएको दाबी गरिएको थियो । यद्यपि, तीमध्ये धेरै स्थानमा बम भेटिएन, एउटा शंकास्पद वस्तु भने सेनाले निष्क्रिय पारेको थियो । 

यी दुई घटनाको शैली, सन्देश र समय हेर्दा संयोगभन्दा बढी समानता देखिन्छ । दुवै घटनामा प्रयोग गरिएको ढाँचा उस्तै छ । प्रेसर कुकर, तार र कालो झोला । दुवै सार्वजनिक र भीडभाड हुने स्थानमा घटित छन् । दुवै पुस महिनामै भएका छन् ।

सुरक्षा विश्लेषकहरूका अनुसार यी घटनामा प्रयोग गरिएका उपकरण वास्तविक विस्फोट गराउनेभन्दा ‘विस्फोट हुन सक्छ’ भन्ने डर सिर्जना गर्न केन्द्रित देखिन्छन् । 

‘यो बम पड्काएर क्षति गर्ने भन्दा पनि सर्वसाधारणमा आतंक पैदा गर्नका लागि गरिएको देखिन्छ,’ कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे भन्छन्, ‘सर्वसाधारणमा डर सिर्जना गर्नु नै यसको मुख्य उद्देश्य देखिन्छ ।’

झापामा भेटिएको पर्चाले त्यो सन्देश झन् स्पष्ट पारेको छ । पर्चामा राजसंस्था पुनःस्थापना, नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग उल्लेख छ । माग पूरा नभए आगामी निर्वाचन बहिष्कार गर्ने चेतावनीसमेत पर्चामा दिइएको प्रहरी स्रोतले जनाएको छ । डीआईजी घिमिरे थप्छन्, ‘चुनाव बिथोल्ने प्रयत्नमा पनि यो समूह लागेको पाइएको छ । पहिचान भइसकेको छ । चाँडै पक्राउ गर्छौं ।’

इटहरी घटनामा पर्चा भेटिएको पुष्टि नभए पनि प्रहरीलाई गरिएको सूचनामा ‘राजावादी समूह’को नाम उल्लेख थियो ।

यी मागहरू कुनै स्थानीय असन्तुष्टिसँग सीमित छैनन् । यी सन्देशहरू नेपालका वर्तमान संवैधानिक व्यवस्था, गणतन्त्र र धर्मनिरपेक्षतामाथि प्रत्यक्ष प्रश्न उठाउने प्रकृतिका छन् । तर ती माग सडक आन्दोलन, राजनीतिक बहस वा औपचारिक माध्यमबाट होइन, डर र त्रासको भाषामा सार्वजनिक गरिएका छन् ।

संयोग कस्तो परेको छ भने यतिबेला पूर्वराजा ज्ञानेन्द्र शाह पनि पूर्वी नेपालकै जिल्लाहरूमा भ्रमणमा छन् । अघिल्लो साता भारतको सिलिगुडी लगायतका क्ष्ेँत्रमा एक साता बिताएर पुस ९ मा फर्किएका उनी यतिबेला झापा–विराटनगर यात्रा गरिरहेका छन् । 

‘यो समर्थन जुटाउने औपचारिक कार्यक्रमभन्दा बढी मनोवैज्ञानिक संकेतजस्तो देखिन्छ,’ रिडर्स झापाका अध्येता सागर शिवाकोटी भन्छन्, ‘राजसंस्थाको एजेन्डा अझै जीवित छ भन्ने देखाउने प्रयासजस्तो लाग्छ । तर यस्ता गतिविधिले त्यो एजेन्डालाई बलियो बनाउँदैन, बरु निरर्थक र नकारात्मक बनाउँछ ।’

झापाको घटनापछि ‘सनातन सुरक्षा सेना नेपाल’ वास्तवमै संगठन हो कि नाम मात्रै भन्ने कुराले सुरक्षाकर्मीलाई ‘टाउको दुखाएको छ’ । अहिलेसम्म यो नाम कुनै सरकारी निकायमा दर्ता भएको छैन, यसको चिनिएको नेतृत्व छैन । सार्वजनिक संरचना, कार्यालय वा घोषित गतिविधि कतै देखिँदैन । 

यसले सुरक्षा निकायभित्र अर्को प्रश्न जन्माएको छ, के यो वास्तविक संगठन हो, कि डर सिर्जना गर्न प्रयोग गरिएको नाम मात्रै ?

सुरक्षा अध्ययनमा यस्ता समूहलाई ‘छाया समूह’ भनिन्छ । अस्तित्व अस्पष्ट तर नाम प्रभावशाली । यस्ता नामहरू प्रयोग गरेर सीमित व्यक्ति वा सानो नेटवर्कले ठूलो प्रभाव पार्ने प्रयास गर्ने प्रवृत्ति देखिन्छ ।

अघिल्लो वर्षको इटहरी र शनिबारको झापा घटनामा बम पड्किएन । कुनै मानवीय क्षति पनि भएन । तर, सर्वसाधारणमा भय फैलियो । केही घण्टा भए पनि राज्य संयन्त्र र सर्वसाधारण दुवै झस्किए ।

सायद यही नै उद्देश्य थियो, त्यो समूहको ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully