गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल रेडक्रस सोसाइटीको संयुक्त पहलमा ब्लड बैंक स्थापना प्रक्रिया अघि बढाइएको हो।
What you should know
धनकुटा — धनकुटा जिल्ला अस्पतालमा लामो समयदेखि देखिँदै आएको रगत अभावको समस्या समाधान गर्न आकस्मिक ब्लड बैंक स्थापनाको पहल सुरु भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल रेडक्रस सोसाइटीको संयुक्त पहलमा ब्लड बैंक स्थापना प्रक्रिया अघि बढाइएको हो।
विसं १९७० सालमा तत्कालीन त्रिचन्द्र अस्पतालका नाममा स्थापना भएको ११२ वर्ष पुरानो धनकुटा जिल्ला अस्पतालमा हालसम्म ब्लड बैंक नहुँदा रगत आवश्यक पर्दा बिरामीका आफन्तले व्यक्तिगत रूपमा रक्तदाता खोज्नुपर्ने बाध्यता रहँदै आएको छ।
आकस्मिक ब्लड बैंक स्थापनाका लागि विभिन्न देशमा रहेका गैरआवासीय नेपालीबाट ७ लाख १ हजार रुपैयाँ संकलन भएको छ।
गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतको पहलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद् जापान, एनआरएनए राष्ट्रिय समन्वय परिषद् कंगो तथा रोविन प्रसाद शेरचन, किसान भण्डारी, दीपक कडेललगायतले उक्त रकम सहयोग गरेका हुन् ।
प्रारम्भिक अनुमान अनुसार आकस्मिक ब्लड बैंक स्थापना गर्न करिब २० लाख रुपैयाँ र स्थायी ब्लड बैंक सञ्चालनका लागि करिब १ करोड रुपैयाँ आवश्यक पर्ने बताइएको छ।
ब्लड बैंक स्थापनाका लागि आवश्यक थप बजेट, संरचना, उपकरण तथा प्राविधिक व्यवस्थापनका विषयमा बहुपक्षीय छलफल भइरहेको जनाइएको छ ।
यसै सन्दर्भमा शुक्रबार धनकुटा अस्पतालमा राजनीतिक दल, स्थानीय तहका प्रतिनिधि, सामाजिक संघसंस्था तथा सरोकारवाला बीच छलफल गरिएको थियाे। छलफलपछि ब्लड बैंक स्थापना तथा सञ्चालनका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरिएको छ।
कार्यक्रममा पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले आवश्यक प्रक्रिया पूरा गरी प्रस्ताव ल्याएमा संस्थागत सहयोग गर्न नगरपालिका तत्पर रहेको बताए ।
यस्तै पूर्वमन्त्री राजेन्द्र राई, कोशी प्रदेश सभाका सदस्य निरन राई र ईन्द्रमणि पराजुलीले पनि ब्लड बैंक स्थापनाका लागि बजेट व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
नेपाल रेडक्रस धनकुटाका सभापति छत्रबहादुर श्रेष्ठका अनुसार प्रारम्भिक चरणमा अस्पतालमा रक्त संकलन, भण्डारण र परीक्षणका लागि आवश्यक पूर्वाधार तयार पारिनेछ।
ब्लड बैंक स्थापना हुन सके आपतकालीन सेवा, सुत्केरी, शल्यक्रिया तथा अन्य आकस्मिक घटनाका बिरामीको उपचारमा उल्लेखनीय सहजता आउने अस्पताल प्रशासनले जनाएको छ ।
