सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो, लौकहीको बीओपी युनिटलाई बाहिनी झिकाइने

आजबाट काम सुरु गरेको समितिले सात दिनभित्र प्रतिवेदन पेस गर्ने समय पाएको छ ।

पुस १८, २०८२

अर्जुन सुवेदी

Sunsari shooting incident: Investigation committee begins work, BOP unit in Laukahi to be deployed

What you should know

काठमाडौँ — सुनसरीको लौकहीमा सशस्त्र प्रहरीको गोली प्रहारबाट स्थानीय विजय साहको मृत्यु भएपछि छानबिनका लागि गठित समितिले काम सुरु गरेको छ ।

मृतक परिवार, स्थानीय जनप्रतिनिधि र सुरक्षा अधिकारीबीच बिहीबार जिल्ला प्रशासन कार्यलयमा बसेको बैठकले मृतक परिवारलाई तत्काल एक लाख रुपैयाँ किरिया खर्च उपलब्ध गराएर घटना छानबिनका लागि समिति गठन गर्ने सहमति भएको थियो । त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड्का र राष्ट्रिय अनुसन्धान विभाग सुनसरीका अनुसन्धान अधिकृत सविना खनाल सदस्य रहेको समिति गठन भएको थियो ।

समितिले आजबाट काम सुरु गरेको छ । सो समितिले सात दिनभित्र प्रतिवेदन पेस गर्ने समय पाएको छ । साहमाथि गोली चलाउने सशस्त्रका हवल्दार नवराज खतिवडालाई छानबिनका लागि जिल्ला प्रहरी कार्यालय बोलाएर अनुसन्धान सुरु गरिएको छ । समितिले घटनामा संगलग्न अन्य सुरक्षाकर्मीसँग पनि बयान लिने तयारी गरेको छ ।

मृतक परिवार, प्रत्यक्षदर्शी र स्थानीयसँग पनि सोधपुक्ष गर्ने समितिका एक सदस्यले जानकारी दिए । छानबिन प्रतिवेदन प्राप्त भएपछि सुरक्षा अधिकारीको लापरवाहीका कारण मृत्यु भएको ठहर भएमा कारबाही गरिने र पीडित परिवारलाई प्रचलित नियमानुसार राहत तथा क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गरिने सहमति भएको थियो ।

यसैबीच, सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीले बीओपी लौकहीका प्रहरी निरीक्षक मनिषकुमार कटुवाल सहितको युनिटलाई फिर्ता बोलाइने भएको छ । मृतकको पोस्टमार्टम रिपोर्ट आएर अन्त्येष्टि गरिएपछि उक्त टोलीलाई फिर्ता बोलाइने बराह बाहिनी पकलीका डीआईजी कुमार न्यौपानेले जानकारी दिए । 'लौकही बीओपीमा रहेको टोली भरे साँझसम्म बाहिनी फिर्ता हुन्छ र त्यो ठाउँमा अर्को इन्सपेक्टरको नेतृत्वमा युनिट खटिन्छ,' उनले भने ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रविनराज कर्णजीतको नेतृत्वमा पनि तीन सदस्यीय छानबिन समिति बनाइएको छ । समितिमा कोशी प्रदेश नं. १ बाहिनीका एसपी दिनेश बस्नेत र सशस्त्र प्रहरीको कानुन निर्देशनालयका डीएसपी भुवन भण्डारी छन् । सत्यतथ्य छानबिन गरेर समितिले प्रतिवेदन बुझाउनेछ ।

तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीले बुधबार राति १ बजेतिर गोली चलाउँदा ४५ वर्षीय साहको घटनास्थलमै मृत्यु भएको थियो । सीमावर्ती क्षेत्रबाट दुई/तीन वटा सीटी सफारी तथा अटो रिक्सामा चोरी तस्करी गरी मालसामान ल्याउँदै गर्दा दोहोरो भिडन्त हुँदा उनको मृत्यु भएको सशस्त्र प्रहरीको दाबी छ । तर मृतकका परिवार र स्थानीयले यसलाई अस्वीकार गरेका छन् ।  

अर्जुन

Link copied successfully