केन्द्रीय प्राविधिक क्याम्पसमा दुई महिनादेखि विद्यार्थीको धर्ना, संकाय दर्ता र शैक्षिक लापरवाही मुख्य मुद्दा

विद्यार्थीहरूले गत कात्तिक १७ गतेदेखि क्याम्पसको व्यवस्थापन, कमजोर शैक्षिक वातावरण, पारदर्शिताको अभाव र संकाय दर्तामा देखिएको अन्योलका कारण आफ्नो भविष्य नै संकटमा परेको भन्दै आन्दोलन सुरु गरेका हुन्।

पुस १८, २०८२

एलिना राई

Student sit-in at Central Technical Campus for two months, faculty registration and academic negligence are the main issues

What you should know

धरान — धरानस्थित केन्द्रीय प्राविधिक क्याम्पस हात्तीसारमा शैक्षिक तथा प्रशासनिक सुधारको माग गर्दै सुरु गरिएको विद्यार्थी धर्ना दुई महिना पुगेकाे छ।

क्याम्पसका स्ववियू सभापति पेशलराज कार्कीको नेतृत्वमा शैक्षिक तथा प्रशासनिक सुधारसहित ६ बुँदे माग राख्दै विद्यार्थीहरूले दैनिक बिहान १० बजेदेखि क्याम्पसको मुख्य गेटमा एक घण्टा धर्ना दिँदै आएका छन्।

विद्यार्थीहरूले गत कात्तिक १७ गतेदेखि क्याम्पसको व्यवस्थापन, कमजोर शैक्षिक वातावरण, पारदर्शिताको अभाव र संकाय दर्तामा देखिएको अन्योलका कारण आफ्नो भविष्य नै संकटमा परेको भन्दै आन्दोलन सुरु गरेका हुन्।

स्ववियू सभापति कार्कीका अनुसार संकाय दर्ता, शैक्षिक गुणस्तर, आर्थिक पारदर्शिता, क्याम्पस व्यवस्थापन तथा स्वास्थ्य बिमामा देखिएको अनियमितताले विद्यार्थीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

उनका अनुसार वर्षाौदेखि सञ्चालनमा रहेका बीएस्सी माइक्रोबायोलोजी र बीएस्सी न्यूट्रिसन एण्ड डाइटेटिक्स संकाय नेपाल हेल्थ प्रोफेसनल काउन्सिलमा हालसम्म दर्ता हुन नसक्दा विद्यार्थीहरूको भविष्य अन्योलमा परेको छ।

दुई महिनादेखि जारी धर्ना क्याम्पस सुधारको मागमा मात्र सीमित नरही नेपालमा उच्च शिक्षा, पेशागत मान्यता र राज्यको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाउने स्तरमा पुगेको विद्यार्थीहरूको भनाइ छ । वर्षौं अध्ययन गरेपछि पनि लाइसेन्स परीक्षा दिन नपाउने, रोजगारीबाट बञ्चित हुने अवस्थाले विद्यार्थीहरूलाई ‘मान्यता बिना डिग्री’ बोकेर बस्न बाध्य बनाएको उनीहरूको गुनासो छ ।

२०६७ सालदेखि सञ्चालनमा रहेको न्यूट्रिसन एण्ड डाइटेटिक्स संकायले १५ वर्ष बितिसक्दा पनि मान्यता नपाउनु नीतिगत कमजोरीको परिणाम भएको विद्यार्थी नेताहरूको आरोप छ। 'विश्वविद्यालयले पढाउँछ, काउन्सिलले मान्यता दिँदैन, मन्त्रालय मौन बस्छ, यस त्रिकोणीय अन्योलको मूल्य विद्यार्थीले तिर्नुपरेको छ,' सभापति कार्कीले भने ।

आन्दोलनरत विद्यार्थी आशिष कार्की भन्छन्, 'चार वर्ष लगाएर पढ्यौँ, लाखाैं खर्च गर्‍यौं, तर अन्त्यमा जागिरका लागि चाहिने लाइसेन्स नै हुँदैन ।  दुई महिनादेखि आन्दोलनमा छौं तर कुनै सुनुवाइ भएको छैन । प्रशासनले चासो देखाएको छैन।'

विद्यार्थीहरूले शैक्षिक गुणस्तरमा समेत गम्भीर लापरवाही भएको आरोप लगाएका छन्। कक्षामा नियमित उपस्थित भए पनि शिक्षकहरू समयमै नआउने, शिक्षक कक्षमै पनि भेटिन नसक्ने अवस्था सामान्य बनेको विद्यार्थी विश्वेश्वरप्रसाद बुढाले बताए । 'हामी कक्षामा बसेर कुर्छौं, तर शिक्षक न कक्षामा आउनुहुन्छ, न शिक्षक कोठामै भेटिनुहुन्छ,' उनले भने ।

यस्तै स्वास्थ्य बिमाका नाममा विद्यार्थीबाट लिइएको ५०० रुपैयाँ शुल्कबापत कुनै सेवा नपाएको भन्दै सो रकम बिना सर्त फिर्ता गर्नुपर्ने उनीहरूको माग छ।

यता क्याम्पस प्रमुख प्राध्यापक बसन्तकुमार राईले विद्यार्थीहरूले उठाएका अधिकांश माग आफ्नो अधिकार क्षेत्र बाहिर पर्ने भन्दै राजीनामा दिएको बताएका छन् । उनले गत २१ गते उपकुलपतिलाई राजीनामा बुझाइसकेको भए पनि स्वीकृत नभएकाले हाल प्रशासनिक काम निरन्तर गरिरहेको जानकारी दिए।

क्याम्पसमा देखिएका विकृतिहरू सुधार गर्ने प्रयास भइरहेको भए पनि त्यसको नतिजा तत्काल देखिन नसक्ने र क्याम्पसको हितका लागि नै काम भइरहेको उनले दाबी गरे। पटक–पटक संवादका लागि बोलाउँदा पनि विद्यार्थीहरु नआएको उनको दाबी छ। आफूले गर्न सक्ने माग पूरा गरिरहेको भन्दै बाँकी माग सम्बोधन गर्न अधिकार नहुँदा राजीनामा दिएको उनले बताए।

क्याम्पस प्रमुखको राजीनामाले आन्दोलनले संस्थागत दबाब सिर्जना गरेको संकेत गरे पनि संकाय दर्ता, पेशागत मान्यता र नीतिगत स्पष्टताको समस्या समाधान अझै टाढा देखिएको छ। जिम्मेवारी क्याम्पस, विश्वविद्यालय, काउन्सिल वा मन्त्रालय कसको भन्ने बहस थप चर्किएको छ ।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully