वैदेशिक रोजगारीका जोखिम बुझाउन आप्रवासी स्रोत केन्द्रको अभियान

वैदेशिक रोजगारीका लागि अवैधानिक बाटो अपनाउँदा धनकुटाका पनि धेरै युवायुवती ठगी, अलपत्र पर्ने र जोखिमपूर्ण काममा फस्ने गरेको पाइएपछि गाउँमै पुगेर सचेतना सुरु गरिएको हो।

पुस १८, २०८२

विनोद घिमिरे

Immigrant Resource Center's campaign to explain the risks of foreign employment

What you should know

धनकुटा — धनकुटा नगरपालिकामा संचालित आप्रवासी स्रोत केन्द्रले वैदेशिक रोजगारीका संभावित जोखिम, कानुनी प्रावधान र अपनाउनु पर्ने सावधानीबारे बुझाउन गाउँघर अभियान सुरु गरेको छ।

केन्द्रले वैदेशिक रोजगारीमा जानुअघिका वैधानिक प्रक्रिया, श्रमस्वीकृति, कामको प्रकृति, करार अवधि, बिमा, स्वास्थ्य परीक्षण, दुर्घटनामा परे त्यसको क्षतिपुर्ति र कानुनी प्रावधानबारे जानकारी गराइरहेको सूचना अधिकृत मञ्जु राईले बताइन् । 

वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका व्यक्ति, तिनका परिवार, वैदेशिक रोजगारीबाट फर्केका व्यक्ति र पीडितका परिवार भेला गरेर ठगीका घटना, पारिश्रमिक र अन्य सुविधा नपाउने जोखिम, जबरजस्ती श्रम, विदेशमा समस्यामा पर्दा सम्पर्क गर्नुपर्ने निकायका बारेमा जानकारी गराइरहेको राईले जनाइन् ।

वैदेशिक रोजगारीका लागि अवैधानिक बाटो अपनाउँदा धनकुटाका पनि धेरै युवायुवती ठगी, अलपत्र पर्ने र जोखिमपूर्ण काममा फस्ने गरेको पाइएपछि गाउँमै पुगेर सचेतना सुरु गरिएको हो।
राइले भनिन्, ‘वैदेशिक रोजगार ऐन, नियमावलीका प्रावधान, विदेश जानुअघि तालिमको महत्व, श्रम स्वीकृतिको आवश्यकता, समस्या आइपरे दूतावास, वैदेशिक रोजगार विभाग तथा आप्रवासी स्रोत केन्द्रमा पुगेर गर्न सकिने उजुरी प्रक्रियाका बारेमा बुझाइरहेका छौं ।’

केन्द्रले धनकुटाको बेलहरा बेंसीबाट अभियान सुरु गरेको छ । हरेक वडाका टोल विकास संस्थासम्म पुगेर कार्यक्रम संचालन गरिने अधिकृत राईले बताइन्। धनकुटाबाट २०७७ सालयता मात्रै वैधानिक बाटोबाट २७ हजार १ सय ८३ जना वैदेशिक रोजगारीका लागि मलेसिया, खाडी र युरोपेलीमुलुक पुगेको बैदेशिक रोजगार विभागको तथ्याङ्क छ। 

वैदेशिक रोजगारीमा गएका २७ हजार १ सय ८३ मध्ये ५ हजार ४ सय २ जना महिला छन्। यो बीचमा १ हजार १ सय ४२ जना विभिन्न कारणले रोजगारी गुमाएर स्वदेश फर्किएका छन्।

वैदेशिक रोजगारीको बढ्दो क्रमका बीच यससँग सम्बन्धित समस्या लिएर आउने पीडितको संख्या पनि बढ्दो छ। आर्थिक वर्ष २०८१/०८२ र चालु आर्थिक वर्षको यो अवधिमा धनकुटामा वैदेशिक रोजगारीका क्रममा भएका मृत्यु, ठगी, अंगभंग तथा बिरामीका ४५ वटा मुद्दा दर्ता भएको केन्द्रले जनाएको छ। 

दर्ता भएका ४५ मध्ये १५ मृत्यु, १३ ठगी, ९ वटा बिरामी तथा अंगभंगसँग सम्बन्धित छन्। 
कम्पनीले भनेजस्तो काम नदिने, करार अवधिको अन्योलता, समय अगावै रोजगारी गुमाएर फर्केकाहरुले म्यानपावर कम्पनीबाट क्षतिपूर्ति नपाएका जस्ता उजुरी आउने गरेको धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का बताउँछन्। 

पछिल्लो समयमा रोमानियालगायतका युरोपेली मुलुकमा पठाइदिन्छु भनेर रकम लिएर नपठाउनेलगायतका उजुरी आइरहेको खड्काले जनाए । ‘त्यस्ता घटनामा पीडित र पीडकलाई छलफलमा बोलाएर सहमति गराउने र निरुपण हुन नसकेको उजुरी वैदेशिक रोजगार विभागलाई पठाउने गरेका छौं,’ खड्काले भने । 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully