आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा करिब २ करोड रूपैयाँ लागतमा निर्माण गरिएको कम्पोष्ट मल प्लान तथा कृषि स्रोत केन्द्र खण्डहर बनेको हो।
What you should know
खोटाङ — २ करोड बढी खर्च गरेर दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा बनाइएको कम्पोष्ट मल प्लान तथा कृषि स्रोत केन्द्र खण्डहर बनेको छ।
आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा करिब २ करोड रूपैयाँ लागतमा निर्माण गरिएको कम्पोष्ट मल प्लान तथा कृषि स्रोत केन्द्र खण्डहर बनेको हो।
ठेक्का मार्फत १ करोड ९० लाख ७० हजार ६ सय ४ रूपैयाा र कोटेसन मार्फत १० लाख भन्दा बढीमा सम्पन्न कम्पोष्ट मल प्लान निर्माण गरिएको थियो । नगरक्षेत्रभित्रको फोहरबाट कम्पोष्ट मल उत्पादन गरी नगरलाई अर्गानिक बनाउने उद्देश्यले उक्त कम्पोष्ट मल प्लान निर्माण गरिएको थियो । तर व्यवस्थापन समस्याका कारण खण्डहर अवस्थामा पुगेको हो।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका तत्कालीन नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले २०७६ असार १ गते सिलान्यास गरी काम सम्पन्नपछि तत्कालीन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले २०७७ चैत २१ गते उद्घाटन गरेका थिए।
मल उत्पादन समेत सुरु भइसकेको उक्त उद्योगप्रति वर्तमान स्थानीय सरकारले समेत चासो नदिँदा जीर्ण बनेको स्थानीय गङ्गाबहादुर विश्वकर्माले बताए । ‘नगरपालिकाले व्यवस्थापन गर्न नसक्दा कम्पोष्ट मल प्लान खण्डहर बनेको छ,’ विश्वकर्माले भने, ‘व्यवस्थापन गर्न सकेको भए किसानलाई मलको सहज, फोहर व्यवस्थापन, रोजगारको व्यवस्था र नगरपालिकालाई समेत आम्दानीको स्रोत हुन्थ्यो ।’
उक्त कम्पोष्ट मल प्लानका लागि विश्वकर्माले ६ रोपनी जग्गा दिएका हुन् । यसमध्ये चार रोपनी विसं २०९१ सालसम्मका लागि लिजमा र दुई रोपनी जग्गा निःशुल्क रूपमा नगरपालिकालाई उपलब्ध गराएका हुन् । ‘नगरले राम्रै योजना बनायोजस्तो लागेर जग्गा दिएा । तर जम्मा जम्मी हल्ला मात्र भयो, काम भएन,’ विश्वकर्माले भने ।
उक्त ठाउँमा कृषि स्रोत केन्द्र स्थापना गर्ने रणनीति अपनाइएको थियो । पशु तथा कृषि ल्याबलगायतका अन्य पूर्वाधारहरू समेत निर्माण गरिएको थियो । तर व्यवस्थापन अभावमा यी सबै भताभुङ्ग भएको छ ।
उक्त कम्पोष्ट मल प्लान अघिल्लो स्थानीय सरकारकै पालामा बन्द भइसकेको र सञ्चालनका लागि पटक–पटक बोलपत्र आह्वान गर्दा समेत कसैले चासो नदेखाएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका प्रमुख तीर्थराज भट्टराईले बताए। दिक्तेलजस्तो ठाउँमा बनाइएको कम्पोष्ट प्लान अनुपयुक्त भएकाले सञ्चालनमा आउन नसकेको भट्टराईले बताए। ‘कच्चा पदार्थलगायत कम्पोष्ट मल प्लान सञ्चालनको दीर्घकालीन योजना नबनाई करोडौं रकम खर्च गरिएकाले यो अवस्था आयो,’ नगरप्रमुख भट्टराईले भने, ‘सञ्चालन गर्नेबारे अझै पनि अध्ययन भइरहेको छ ।’
कम्पोष्ट मल प्लान मेसिन खरिद तथा संरचना निर्माणमा आर्थिक वर्ष २०७५/७६ मा १ करोड ४ लाख ५२ हजार ५ सय रूपैयाँ खर्च भएको थियो । उक्त कामको ठेक्का रिसोर्स एण्ड चेन्ज मेनेजमेन्ट प्रालि काठमाडौंले लिएको थियो । उक्त उद्योगको कम्पाउण्ड निर्माणमा पनि ठूलै खर्च भएको छ । आर्थिक वर्ष २०७६/७७ मा मुकुन्द इन्दिरा निर्माण सेवाले ४४ लाख ४३ हजार ५ सय ४६ रूपैयाँको लागतमा कम्पाउण्ड निर्माणको काम गरेको थियो।
पोखरी निर्माण र हाइटेक ग्रीन हाउस पनि अलपत्र अवस्थामा छ । पोखरी र हाइटेक ग्रीन हाउस निर्माणमा पनि मनग्ये खर्च भएको छ । आर्थिक वर्ष २०७६/७७ मा हाइटेक ग्रीन हाउस निर्माणमा १० लाख ६ हजार ६०४ रूपैयाँ खर्च भएको थियो । उक्त कामको ठेक्का वेष्ट कन्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रालि सुनसरीले लिएको थियो ।
मल उत्पादनका लागि आवश्यक कच्चा पदार्थका लागि भैंसी खरिद, कम्पोष्ट मल प्लान उद्योगको कम्पाउण्डमा गार्डेनिङका लागि फूल, विभिन्न किसिमका विरुवा तथा सजावटका सामग्रीमा पनि खर्च भएको छ । योसहित विभिन्न योजनाका काम करिब १० लाख बढीको कोटेसन मार्फत गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपाकिाका सूचना अधिकारी मोहनकुमार भट्टराईले बताए।
मल उद्योगका लागि आवश्यक मलमुत्रका लागि खरिद गरिएका भैंसी समेत यो बेला छैनन् । दुई लाखमा खरिद गरिएको तीन भैंसीमध्ये एउटा मरेको र दुई वटा ९० हजारमा लिलाम गरिएको सूचना अधिकारी भट्टराईले बताए। कम्पोष्ट मल प्लानका लागि खरिद गरिएको एउटा मेसिन र एउटा ट्याक्टर मात्र सञ्चालनमा छ । एउटा ट्याक्टर र एउटा गाडी बिग्रिएर थन्किएको भट्टराईले बताए ।
