नक्कली नागरिकता बनाएर बेचेको आरोपमा एक जना नियन्त्रणमा

बिर्तामोड नगरपालिका–३ स्थित एक मिठाई पसलबाट शिवसताक्षी–११ का २३ वर्षीय पप्पु ठाकुरलाई नक्कली नागरिकतासहित बिहीबार नियन्त्रणमा लिइएको हो ।

पुस १७, २०८२

नवराज सुवेदी

One person arrested on charges of making and selling fake citizenship

झापा — लामो समयदेखि एउटा गिरोहले नक्कली नागरिकता बनाएर बेचिरहेको भन्ने सूचना जिल्ला प्रशासन कार्यालय झापामा पुग्यो ।

नागरिकता नै नक्कली बनाइरहेको सूचना पाएसँगै प्रशासनले एउटा विशेष सुराकी परिचालन गर्यो । जुन सुराकीमार्फत झापा प्रशासनले प्रहरीको सहयोगमा नक्कली नागरिकतासँगै एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रशासन झापाका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार बिर्तामोड नगरपालिका–३ स्थित एक मिठाई पसलबाट शिवसताक्षी–११ का २३ वर्षीय पप्पु ठाकुरलाई नक्कली नागरिकतासहित बिहीबार नियन्त्रणमा लिइएको हो ।

सूचना अधिकारी प्रसाईंका अनुसार पूर्वी नेपालमा नक्कली नागरिकता बनाउने एउटा ठूलो गिरोह सक्रिय छ। जसले नक्कली नागरिकता बनाएर बेचेर मोटो रकम असुलिरहेको छ । ‘नक्कली नागरिकता बनाएर पटक–पटक बेचिरहेको भन्ने सूचना हामीलाई थियो । हामीले विशेष संयन्त्रमार्फत निगरानी गरिरहेका थियाै‌ं,’ उनले भने, ‘आज भने नागरिकता किन्ने बाहनामा बोलाइयो । नागरिकता लिएर उनी आए र नियन्त्रणमा लिन सफल भयाै‌ं।’

उनका अनुसार ती व्यक्तिसँगै राजगढ–५ सप्तरीको ठेगाना भएको एक नागरिकता पनि फेला परेको छ । यद्यपि नियन्त्रणमा लिइएका व्यक्तिमाथि प्रहरीले थप अनुसन्धान गरिरहेकाले थप कुरा खुल्दै जाने उनले जनाए। ‘अनुसन्धान जारी छ। नक्कली नागरिकता बनाउनेहरुको नेटवर्क ठूलो छ भन्ने जानकारी आएको छ,’ सूचना अधिकारी प्रसाईंले भने ।

नवराज सुवेदी

Link copied successfully