क्यान्सर विजेताको मध्यपहाडी राजमार्ग लक्षित साइकल यात्रा सुरु

अंग्रेजी नयाँ वर्षको पहिलो दिन पुष १७ गते बिहान सुरु भएको यात्रा एक महिनापछि बैतडीको झुलाघाट पुगेर टुंगिने टोलीको नेतृत्व गरिरहेका धुलिखेल अस्पतालका डाक्टर सुमन ताम्राकारले बताए।

पुस १७, २०८२

लक्ष्मी गौतम

Cancer survivor's cycling journey begins on Mid-Hill Highway

What you should know

पाँचथर — क्यान्सरका विरामीका लागि उपचार सहयोग कोष स्थापना गर्ने उद्देश्यसहित नेपालका २ जना क्यान्सर बिजेता साइकलयात्रीको अगुवाईमा मध्यपहाडी राजमार्गमा १ हजार ८ सय किलोमिटर लामो साइकल यात्रा सुरु भएको छ।

क्यान्सर विजेता साइकलयात्री हर्क लामा र कविता चित्राकारको अगुवाईमा मध्यपहाडी राजमार्गको सुरुवाती बिन्दु पाँचथर र सिक्किमको सिमावर्ती चिवा भञ्ज्याङबाट यात्रा सुरु गरिएको हो।

यात्रा टोलीमा आठ जना साइकवलयात्रीसँगै वृत्तचित्र र मेडिकलका गरी १६ जना सहभागी छन् ।

अंग्रेजी नयाँ वर्षको पहिलो दिन पुष १७ गते बिहान सुरु भएको यात्रा एक महिनापछि बैतडीको झुलाघाट पुगेर टुंगिने टोलीको नेतृत्व गरिरहेका डाक्टर सुमन ताम्राकारले बताए।

साइकल कल्चर कम्युनिटिले धुलिखेल अस्पतालसँगको सहकार्यमा साइकल याक्रा सुरु गरेको हो । यात्राका त्रममा स्थानीय तह र नागरिक समाजसँगै क्यान्सरबिरुद्वको जनचेतना जगाउने छलफल र अन्तरक्रिया गरिने ताम्राकारले बताए।  

चिवाभञ्ज्याङदेखि साइकल यात्रा सुरु गरेका साइक्लिस्ट र प्राविधिकहरु पहिलो दिन करिब ५० किलोमिटर यात्रा गर्दै हिलिहाङ गाउँपालिकामा आइपुगेका छन्।

पछिल्लो समय ‘भुसको आगो’ जस्तै फैलिँदै गरेको क्यान्सर रोगविरुद्व जनचेतना जगाउनका साथै उपचारमा रहेका विरामीलाई आर्थिक सहयोग गर्न कोष खडा गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको अभियन्ताहरुले बताएका छन्। धुलिखेल अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुमनराज ताम्राकारले अहिलेसम्म ४४ लाख रुपैयाँ सहयोग जुटिसकेको जानकारी गराए।

साइकल यात्राबाट प्राप्त रकम ‘क्यान्सर बिरामी सहयोग कोष’ स्थापनाका लागि धुलिखेल अस्पताललाई हस्तानतरण गरिने आयोजकले जनाएको छ। नेपालमा वार्षिक २२ हजार बढी क्यान्सरका बिरामी थपिने र त्यसमा करिब १५ हजारको ज्यान जाने तथ्यांक आयोजक रहेको डा. ताम्राकारले बताए।  

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully